काठमाडौं। नेपालस्थित भारतीय दूतावासले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ विश्व हिन्दी दिवस मनाएको छ ।
सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएयता हरेक वर्ष यही दिन भारत, विदेशस्थित भारतीय दूतावास र नियोगमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ।
सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको शुभकामना सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो।
नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथि थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा डा उषा ठाकुर विशिष्ट
अतिथि थिइन्।
सो अवसरमा विश्व हिन्दी दिवसको अवसरमा विशेष गरी हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनमा भारतबाट आएका तीन प्रख्यात कवि सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए।
कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए। उनीहरुलाई त्यस अवसरमा पुरस्कृत पनि गरिएको थियो।