काठमाडौं। नेपालविरुद्ध चीनले चालिरहेका रणनीतिक हस्तक्षेपकारी कदमविरुद्ध जनकपुरमा उग्र प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानले मंगलबार साँझ चिनियाँ हस्तक्षेपकारी कदमविरुद्ध विरोध प्रदर्शन गरेको हो ।
राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा नेपालका लािग चिनियाँ राजदुत होउ यान्छिको पुत्ला समेत जलाइएको छ ।
दर्जनौं सहभागीविरोध प्रदर्शनका क्रममा गो ब्याक चाइना एवं चीन मुर्दावाद भन्दै विरोधकर्ताहरुले नारा लगाएका थिए ।
चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुल्ला गर र नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर भन्ने नारासहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
खास गरी चीनले अहिले नेपाली भुमी प्रयोग गरी भारतविरुद्ध रणनीतिक कमद चाल्ने योजनाका साथ कमला नदीमाथि अघि बढाइरहेको योजनामाथि समेत विरोधकर्ताहरुले संकेत गरेका छन् ।

सिन्धुली हुँदै उदयपुर, सिरहा र धनुषाको सिमाना भएर बग्ने नेपालको महत्वपूर्ण नदी कमलामा भण्डारण तथा अन्य प्रयोजनका लागि चिनियाँ कम्पनीले काम अघि बढाउन तयारी गरेको छ ।
चीनले नेपाली भुमी प्रयोग गरी भारतविरुद्ध रणनीतिक कदम चाल्न सक्ने र तीनै देशबीचको सम्बन्धमा उथलपुथल मच्चाउन सक्ने आरोपका बीच चीनविरुद्ध नेपालमा समेत प्रदर्शन हुन थालेको छ ।
चिनियाँ रणनीतिीविरुद्ध सर्वसाधरण सजग हुँदै जाँदा प्रदर्शन हुन लागेको सरोकारवालाहरुको भनाइ छ ।
