काठमाडौं। शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइने बताएका छन् ।
कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने प्रधानमन्त्री देउवाले बताएका हुन् ।
यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकता अनुसार बूष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए । प्रधानमन्त्री देउवाले विज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।
कोरोनाको नयाँ–नयाँ भेरियन्ट आएका कारण विश्व समूदायकै लागि चूनौती देखिएकाले यसलाई सामना गर्ने सवै उपायहरुलाई अवलम्वन गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले आइसोलेशन र होल्डिङ सेन्टरका साथै कोरोना परीक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।