काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पर्सामा गठित तदर्थ समितिलाई मान्यता दिएको छ ।
जसपा मधेस प्रदेश समितिले आइतबार विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिबाट निर्णय नभएसम्म जसपा पर्साको तदर्थ समिति नै आधिकारिक भएको स्पष्ट पारेको छ ।
तदर्थ समिति गठनप्रति प्रदेश समितिका मुख्यसचिव दिनेशकुमार यादवले समायोजनबारे छलफल चलिरहेकाले तदर्थ समितिलाई मान्यता दिन नसकिने र एकतापूर्वको समाजवादी र राजपा जिल्ला समिति नै यथावत रहेको भनेर विज्ञप्ति निकालेका बेला मधेस प्रदेश समितिले त्यसलाई काउन्टर दिएको हो । समितिका उपाध्यक्ष सुशील यादवले मुख्य सचिव दिनेश यादवको व्यक्तिगत हस्ताक्षरित विज्ञप्तिको कुनै औचित्य नभएको कुरा स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘अब औपचारिक बैठक बसी पार्टीको विधान बमोजिम हो या होइन निष्कर्ष निकाल्न यसको अन्तिम व्याख्या केन्द्रिय समितिको भएको हुनाले त्यसै अनुसार गर्न गराउन चाहन्छु र लोकतान्त्रिक प्रक्रियाले विधान बमोजिम जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला तदर्थ समिति गठन गरेको कार्यलाई हचुवाको भरमा एकल निर्णयबाट विज्ञप्ति निकाल्ने कार्य नहोस् भन्ने सचेत गराउन चाहन्छु ।’
तदर्थ समितिलाई जसपा पर्साका सांसद एवं प्रभावशाली नेता प्रदीप यादवको पनि समर्थन छ । पर्सामा प्रदीप यादव निर्णायक मानिन्छन् । उनको समर्थन रहेको समितिलाई प्रदेश समितिले पनि मान्यता दिएको हो ।