काठमाडौं। कोटेश्वरबाट पठाओ राइडरलाई धापाखेल पुर्याइ अपहरण लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार पठाओ राइडर २५ वर्षीय प्रविन राईलाई कोटेश्वरबाट धापाखेल पुर्याएर अपहरण लुटपाट गर्ने २१ वर्षीय सुमन तामाङ र मिनराज राईलाई पक्राउ गरिएको हो ।
शनिबार राति सुमन तामाङले कोटेश्वरबाट पठाओ बुक गरेर धापाखेल पुर्याएका थिए, भने उनका साथी मिनराज राईले पठाओ राइडर राईलाई बन्धक बनाउन सहयोग गरेका अनुसन्धानबाट खुलेको छ ।
धापाखेल पुर्याएपछि उनीहरुले पठाओ राइडर राईको मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार रुपैयाँ र बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।
आइतबार बिहान उनीहरु दुवै जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर राइलाई हारगुहार गर्दै गरेको अवस्थामा भेटेपछि प्रहरीलाई बोलाइएको र प्रहरी टोली घटनास्थल पुगे लगत्तै राइडर राईको उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।