Logo

बिहिवार, जेठ १२ गते २०७९

images

कांग्रेसलाई माओवादी-नेकपा एसबाट धोका, एमाले र राप्रपालाई भोट

कांग्रेसलाई माओवादी-नेकपा एसबाट धोका, एमाले र राप्रपालाई भोट

नेपाल पाना माघ १३ २०७८
  • 16.7K
    SHARES
  • कांग्रेसलाई माओवादी-नेकपा एसबाट धोका, एमाले र राप्रपालाई भोट

    काठमाडौं । राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसलाई धोका भएको छ । जसका कारण कांग्रेस उम्मेदवार भोटले भन्दा चिठ्ठाले अर्थात आफ्नै भाग्यले बालबाल निर्वाचित हुन पुगेका छन् ।

    प्रसंग हो प्रदेश १ को । यहाँ कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा पार्टीबीच गठबन्धन थियो । प्रतिस्पर्धी थियो एमाले र राप्रपा । गठबन्धनको ४ हजार ६६८ मतभार थियो भने एमालेसँग ४ हजार ५२४ र राप्रपासँग १२० मत थियो । एमाले र राप्रपा जोड्दा पनि ४६४४ मात्रै हुन आउँछ । अर्थात गठबन्धनभन्दा २४ मतभार कम हुन्छ । यस हिसाबले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित थियो ।

    तर निर्वाचनको परिणाम भने त्यसरी आएन । माधव नेपालको नेकपा एसकी उपाध्यक्ष जयन्ती राई ४६५२ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी एमालेकी सुमित्रा भण्डारीले ४३६२ मत पाइन् । अर्थात ३ सय मत कम पाइन् । त्यस्तै राप्रपाकी रन्जु प्याकुरेलले आफ्नो पार्टीको सबै १२० मत नै पाइन् । केही मत भने बदर भएको थियो ।

    तर गठबन्धनबाट चुनाव लडेका कांग्रेस र जसपाका उम्मेदवारको हकमा भने यो नतिजा आएन । जसपाका उम्मेदवार हेमराज राई पराजित भए । त्यसैगरी कांग्रेसका गोपाल बस्नेतको प्रतिस्पर्धी एमालेका उम्मेदवारसँग बराबरी मत आयो । भाग्य भनौ कि बस्नेत गोलाप्रथाबाट निर्वाचित हुन पुगे ।

    जसपाका राई एमालेका सोनम ग्याल्जेन शेर्पासँग ३६६ मतअन्तरले पराजित भए । जबकी गठबन्धन र एमालेको मतअन्तर १४४ मात्र छ । १४४ मतले पछाडि रहेको र राप्रपा मिल्दासमेत २४ मतले पछाडि एमालेका उम्मेदवार सोनमले ३६६ मतअन्तरले जित्नु भनेको गठबन्धनकै दलबाट एमालेलाई मत जानु हो ।

    यहाँनेर जसपाका उम्मेदवार राईलाई गठबन्धनका दलबाट चरम धोका भएको पुष्टि हुन्छ । अर्कोतिर कांग्रेसका गोपाल बस्नेतको एमालेका गुरु बरालसँग समान ४४८८ मत आयो । जबकी १२० मतभार भएको राप्रपाका उम्मेदवार अमरबहादुर थापाले १६८ मतभार पाएका छन् ।

    यसबाट के देखियो भने एमालेसँगै राप्रपाका उम्मेदवारलाई समेत गठबन्धनबाट मत गयो । ४६६८ मतमा कांग्रेसका बस्नेतले ४४८८ मत मात्र पाए । अर्थात १८० मत नपाउँदा बस्नेतको एमाले उम्मेदवारसँग बराबरी हुन पुग्यो । अर्थात बस्नेतमाथि गठबन्धनबाटै धोका भयो ।

    कांग्रेस मतदाताले कांग्रेस उम्मेदवारलाई नै मत नदिने कुरा भएन । माओवादी केन्द्र र नेकपा एसबाट मत नजाँदा तथा एमाले र राप्रपालाई क्रस भोट हुँदा कांग्रेस उम्मेदवार बस्नेत झण्डै चिप्लिएका थिए । माओवादी र नेकपा एसले धोका दिए पनि उनलाई भाग्यले साथ दियो । गोला प्रथाबाट उनी नै निर्वाचित भए ।

    नेकपा एसकी उपाध्यक्ष जयन्ती राई ३ मतअन्तरले जित्ने तर कांग्रेसका उम्मेदवारको बराबरी तथा जसपाका उम्मेदवार ३ सय बढी मतअन्तरले पराजित हुनुले गठबन्धनका दलबाट चरम धोका भएको पुष्टि हुन्छ ।

    ‘प्रदेश १ मा नेकपा एसको उमेदवारले मात्रै जित्ने तर जसपा हार्ने अनि काङ्ग्रेस बराबर हुने, प्रष्ट सन्देश: माओवादी र नेकपा एसले जसपा र काङ्ग्रेसलाई धोका दिए,’ एक जना विश्लेषक भन्छन्, ‘गठबन्धनको सबैभन्दा ठूलो दल काङ्ग्रेस उमेदवारको बराबर हुनी चौथो नेकपा एसले जित्ने आफैमा धोकाको उदाहरण हो ।’

    माघ १३, २०७८ बिहिवार ११:३८:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend