काठमाडौं । उत्तरी छिमेकी चीनको कम्पनीले स्वयम्भूको बौद्ध स्तुपा भत्काउन थालेपछि बौद्ध धर्मावलम्बीहरु आन्दोलित बनेका छन् । चक्रपथ विस्तार आयोजनाले चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपसँग सडक विस्तारको सम्झौता गरेको छ ।
यसमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि संलग्न छन् । शाक्यले नै आफूले स्तुपा हटाउने भनेर चिनियाँ कम्पनीलाई सडक विस्तार गर्न लगाएको खुलेको छ ।
यसरी नेपाली जनप्रतिनिधिको मिलेमतोमा चिनियाँ कम्पनीले चक्रपथ विस्तारका नाममा बौद्ध धर्मावलम्बीको खुन पसिनाबाट बनेको स्तुपा भत्काउन खोजेपछि बौद्धमार्गीहरु आन्दोलित भएका हुन् । स्वयम्भूको स्तुपा विश्व सम्पदा सूचीभित्र परेको हो । यसभित्र परेको कुनै पनि सम्पदा भत्काउन पाइँदैन ।
बुद्ध धर्मको संरक्षणका लागि संस्कृतिक सम्पदा बचाउनुपर्ने सरोकारवालाले आन्दोलन थालेका हुन् । निर्माण व्यवसायी गेल्जे लामा शेर्पाले युनेस्कोबाट स्वीकृत नपाउँदा आफूले पशुपति विकास कोषमा पाँच वर्षसम्म पर्खेर ठेक्का घटाएर काम गर्नुपरेको उदाहरण सुनाउँदै पुरातत्व विभाग र युनेस्कोबाट स्वीकृत पाएको छ कि छैन हेर्नुपर्ने बताए ।
अध्यक्ष नेपाल बौद्ध महासंघका आचार्य नोवु शेर्पाले स्तुपाको साङ्गे तुङ्गको मूर्ति हटाउन नदिने बताए । ‘महानगरले स्तुपा भत्काएर सडक बनाउने रे । यहाँको कुनै पनि सम्पदालाई हटाउन दिँदैनौं । चक्रपथ विस्तार गर्ने क्रममा स्तुपालाई नै भत्काएर बाटो बनाउने रे । कानुनी र कुटनीतिक लडाई लड्छौं । शान्तिपूर्ण प्रदर्शन गर्छौं,’ उनले भने । बौद्ध सम्पदा बचाउन जुनसुकै कदम चाल्ने उनको उदघोष छ ।

नेता पासाङ शेर्पाले पनि ऐक्यबद्धता जनाए । स्वयम्भूका सम्पदाहरु भत्काउने कदमको विरोधमा हजारौको हस्ताक्षर समेत संकलन गरिएको छ । सामाजिक अभियन्ता पासाङ तेम्बा लामाले जस्तोसुकै मन्दिर भए पनि संरक्षण गर्नुपर्नेमा सरकारले एक पैसा नहालेको मनाङका बासीले दुख गरेर बनाएको भत्काउने भनेको हामी बौद्धमार्गीका लागि घात भएको बताए ।
विकासभन्दा सम्पदा संरक्षण ठूलो हुने भन्दै जुनसुकै हालतमा बचाउने उदघोष गरे । आन्दोलित बौद्धमार्गीहरुले विश्व सम्पदा क्षेत्र स्वयम्भु बचाउ अभियान नै गठन गरेर अभियान थालेका छन् ।
यता उपत्यकाबासी सडक विस्तार पीडित संघर्ष समितिले अदालतको आदेश विपरीत सडक विस्तारको नाममा स्थानीयलाई बिचल्लीमा पारेको भन्दै चिनियाँ कम्पनीलाई चेतावनी दिएको छ । तत्काल विस्तारको काम बन्द नगरे प्रतिकार गर्ने चेतावनी दिएको छ ।