काठमाडौं । नेपालमा अहिले अमेरिकी सहायता परियोजना एमसीसीको विषय तातेको छ । संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रसरता लिएका छन् ।
तर सत्ता गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अलमलमा छन् । देउवाले अब पनि पारित नगरे एमसीसी फिर्ता जाने भन्दै साथ नदिए सत्ता गठबन्धन तोड्ने र एमालेसँग मिलेर पारित गर्ने गर्ने मनस्थिति बनाएका छन् ।
यस्तोमा माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि पारित गराउन शनिबार सहमत भएका थिए । उनीहरु सहमत भएकै भोलिपल्ट उत्तरी छिमेकी चीनका एक उच्च नेताले प्रचण्डसँग सम्वाद गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सुङ थाओले प्रचण्डसँग भर्चुअल रुपमा आइतबार सम्वाद गरेका हुन् । कुराकानीमा चिनियाँ नेता थाओले बेल्ट एन्ड रोड अवधारणा बीआरआईको कुरा गरेर अमेरिकी एमसीसी सम्झौता अगाडि नबढाउन कडा सन्देश दिएका छन् ।
‘नेपालसँग बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को फ्रेमवर्कभित्र रहेका प्रमुख परियोजनालाई व्यवहारिक कार्यान्वयनमा लैजान चीन चाहन्छ’ चिनियाँ नेताले प्रचण्डलाई भने । उनले अप्रत्यक्ष रुपमा एमसीसी अगाडि नबढाउन र बीआरआईमा केन्द्रीत हुन प्रचण्डलाई भनेका छन् ।
बीआरआईमा जोड दिएका चिनियाँ नेताले माओवादी केन्द्रसँग अझै गहिरो सम्बन्ध सीपीसीले चाहेको, पार्टी—पार्टीबीचको सम्बन्ध सुदृढ गर्दै चीन—नेपाल मित्रता तथा क्षेत्रीय शान्ति र स्थिरताका लागि अझै बढी योगदान गर्न चाहेको उल्लेख गरे ।
क्षेत्रीय शान्ति भनेर उनको संकेत एमसीसीतिर थियो । त्यसो त एमसीसी अगाडि नबढाउन काठमाडौंमा चिनियाँ राजदूत पनि सक्रिय भएकी छन् । उनले प्रचण्डदेखि सत्ता गठबन्धन एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालसम्म भेटेर एमसीसी रोक्न प्रयास गरिरहेकी छन् ।