काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार अपरान्ह बालुवाटारमा गएर प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएपछि ओली अपरान्ह ४ बजे महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार जान लागेका हुन् ।
एमालेको प्रचार विभागले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल गर्न ओली बालुवाटार जाने कार्यक्रम तय भएको बताएको छ ।
समसामयिक बिषयमा छलफल गर्ने भनिए पनि संसदमा देखिएको गतिरोध खुलाउने विषय, स्थानीय तह निर्वाचनको मिति र अमेरिकी परियोजना एमसीसीबारे छलफल हुने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।
गत असारमा सरकारबाट बाहिरिएपछि ओली पहिलो पटक बालुवाटार जान लागेका कारण समेत ओलीको यो वार्तालाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
यस्तै एमसीसीले सत्ता गठबन्धनमा किचलो भइरहेका बेला ओली र देउवाबीच वार्ता हुनुले सत्ता गठबन्धनलाई समेत तरंगीत बनाएको छ ।
छलफलमा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाएका छन् । यद्यपि, उनी जाने नजानेबारे टुंगो लागेको छैन ।