काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्।
ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे।
“यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भने, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताए ।
शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए ।
शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उनको भनाइ छ ।