काठमाडौं। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेका छन् ।
बीबीसी हिन्दीले मृत्यु भएका विद्यार्थी नवीनसँगै युक्रेनको खार्किभमा बस्ने भारतीय विद्यार्थी श्रीकान्त चेन्नागौडासँग कुरा गरेको छ।
खार्किभबाट बीबीसी हिन्दीसँग बोल्दै मेडिकल विद्यार्थी श्रीकान्तले भनेका छन्, ‘उनले मलाई बिहान ८ बजे फोन गरे र खानाको पैसा सकिएकोले पैसा ट्रान्सफर गर्न भने। उनी हामी सबैका लागि खाना किन्न गएका थिए।’
कर्नाटकको हावेरी जिल्लाको रानेबेन्नुर तालुकको चालगेरी गाउँका नवीनले ४ वर्षदेखि श्रीकान्तसँगै खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा मेडिसिन पढिरहेका थिए।
कर्फ्यु सकिएपछि बिहान ६:३० बजे नवीनले आफ्नो बंकर छाडेको बताइएको छ। सहरमा दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो। नवीन र श्रीकान्त आफ्ना साथीहरूसँग त्यहाँ बस्छन्। यो बंकर उनको अपार्टमेन्ट तल छ। सुपरमार्केट उनी बस्ने ठाँउबाट करिब ५० मिटर टाढा छ।
श्रीकान्तले बीबीसी हिन्दीसँग भनेका छन्, ‘मैले पैसा ट्रान्सफर गरें र पाँचदेखि दस मिनेटमा उनलाई फोन गरेँ तर उनले फोन उठाएनन्। त्यसपछि मैले उनको स्थानीय नम्बर डायल गरें। उनले अझै फोन उठाएनन्। त्यसपछि कसैले मलाई फोन गर्यो, उठाएँ र युक्रेनी भाषामा कुरा गर्दै थियो, जनु मैले बुझ्नि बुझ्दिनँ।’
श्रीकान्तले नजिकैका एक व्यक्तिलाई फोन दिए। कुराकानीपछि ती व्यक्तिले श्रीकान्तलाई भने, ‘तिम्रो साथी रहेनन्।’
‘मैले पत्याउनै सकिनँ। त्यसपछि म सुपरमार्केट गएँ। त्यहाँ विस्फोटजस्तो कुनै संकेत थिएन’, श्रीकान्तले भनेका छन्।
श्रीकान्तले नवीनलाई कतैबाट गोली हानिएको अनुमान गरेका छन्। श्रीकान्त भारतको कर्नाटकको मैसुरका हुन्।