काठमाडौं । उत्तरी छिमेकी चीनले उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं पठाउने भएको छ । संसदबाट अमेरिकी एमसीसी सम्झौता अनुमोदन भएपछि चिन्तित बनेको बेइजिङले विदेशमन्त्री वाङ यीको नेतृत्वमा उच्चस्तरीय टोली पठाउन लागेको हो ।
चैत दोस्रो साता दुईदिने भ्रमणका क्रममा ६ सदस्यीय चिनियाँ उच्च टोली काठमाडौं उत्रिने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ टोलीले एमसीसीलाई कार्यान्वयन हुन अवरोध हुनेगरी नयाँ प्रस्ताव बीआरआई कार्यान्वयन ल्याउन लागेको हो ।
नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो । चीनले एमसीसी पारित गर्न नहुने भन्दै लबिङ गर्दै आएको थियो ।
एमसीसी गत फागुन ८ गते संसदमा पेश भएसँगै त्यसलाई रोक्नसमेत चीनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सम्पर्क गरेर एमसीसी पारित नगर्न दबाब दिएको थियो ।
चिनियाँ विदेश मन्त्रीले पटक पटक पत्रकार सम्मेलन गर्दै बेइजिङमै कसैले दबाबमा दिएको उपहार पनि लिन्छ ? भन्दै नेपाललाई भड्काइरहेका थिए । नेपालले एमसीसी पारित गर्ने विषयमा चीन र अमेरिकाबीच वाकयुद्ध नै चलिरहेको थियो । तर एमसीसी पारित गरेपछि चीनले ‘नोट गरेको’ मात्र प्रतिक्रिया दिएको थियो ।
एमसीसी पारित नै भएपछि अब भने चीनले नेपालले यसअघि सहमति जनाएको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ लाई अगाडि बढाउनका लागि नेपाल आउन लागेको बुझिएको छ । चीनले चर्को मूल्यमा ऋण दिएको आरोप लागिरहेका बेलामा बीआरआईमार्फत नेपाललाई जोड्नका लागि चिनियाँ विदेश मन्त्रीको टोली नेपाल आउन लागेको बताइन्छ ।