काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले शीर्ष नेताहरुलाई लामो सम्बोधन नगर्न सचेत गराएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहले मान्छेको सुन्ने क्षमता नै बढीमा एक घण्टा भएको भन्दै एउटै व्यक्ति तीन/चार घण्टा बोल्दा बोरिङ भएको गुनासो गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन/चार घण्टा लगातार बोलेर इरिटेड र बोरिङ गरेकोमा आपत्ति जनाउँदै शाहले यस्तो गतिविधि नदोहोर्याउन सचेत गराए । ‘हामी कलेज पढ्दा हाम्रो लेक्चर पनि ४५ मिनेटदेखि एक घण्टाको हुन्थ्यो,’ उनले भने, ‘किनभने ह्मुयन क्यापासिटी, सुन्ने क्यापासिटी ४५ मिनेटदेखि १ घण्टामात्रै हुँदो रहेछ ।’
उनले थपे, ‘तर हाम्रा सिनियर नेता यहाँ उभिएर तीन/तीन चार/चार घण्टा बोल्नुहु न्छ। त्यो तीन/चार घण्टा एक लेभलपछि बोरिङ भइहाल्छ । त्यसैभएर मेरो सुझाव के छ भने आफनो कुराहरु संक्षिप्त, प्रिसाइज, सुन्ने गरी एक घण्टामै टुंग्याउनुपर्छ ।’
कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने शाहले त्यहाँको कृष्णनगर नाकालाई नीति तथा कार्यक्रममा नराखिएकोमा असन्तुष्टि जनाए । बजेटमा समेट्न उनले माग गरे ।
‘कृष्णनगर नाका गुजरातको मुन्द्रासँग जोडिन्छ। त्यहाँ सुख्खा बन्दरगाह प्रस्ताव गरेका थियौं। तर नीति तथा कार्यक्रममा परेन । प्रस्ताव पारित भए तेस्रो मुलुकसँग निर्यात र आयातमा जोडिनेछ,’ उनले भने ।
भूरणनीतिक नाका कृष्णनगरमा अध्यागमन, प्लान्ट र एनिमल क्वारेन्टिन नभएकाले पूर्वाधारका लागि बजेट दिन माग गरे ।