काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा अन्तर्घात गरेर पार्टी हराउन भूमिका खेलेका अमरेशकुमार सिंहलाई कारवाहीको तयारी थालेको छ । स्थानीय तह निर्वाचनमा अमरेश समूहको अन्तर्घातले सर्लाहीमा कांग्रेसले कम्तिमा चार पालिका गुमाएको छ । अन्तर्घातका बीच जिल्ला सभापति सुरेन्द्र सिंहको नेतृत्वमा गठबन्धन नगरेरै कांग्रेसले १२ पालिका जित्दै पहिलो दल बनेको छ । अन्तर्घात नभएको भए कांग्रेसले थप ४ पालिका जित्ने अवस्था थियो । तर अमरेशले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठाएर, अर्को दलका उम्मेदवारलाई सघाएर अन्तर्घात गर्दा उनको गृह पालिका बलरा नगरपालिकासहित रामनगर गाउँपालिका, गोडैता नगरपालिका र बरहथवा नगरपालिका कांग्रेसले गुमाएको छ । यहाँ करिब करिब कांग्रेसको जित सुनिश्चित जस्तै थियो । तर अन्तर्घातले अमरेशको निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ र अर्को छिमेकी निर्वाचन क्षेत्र ३ मा कांग्रेसले एक सिट पनि जित्ने रहेन ।
कांग्रेस सर्लाहीको तत्कालीन नेतृत्वले अमरेशलाई गुटगत गतिविधि नगर्न आग्रह गरेको थियो । चुनावको मुखमा निवर्तमान सभापति नागेन्द्र कुमारले अहिलेसम्म जे भयो भयो, संघीय चुनावमा सघाउने भन्दै अमरेशलाई पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए । तर मानेनन् । उनकै गृहपालिका बलराका कांग्रेस उम्मेदवारले पनि संघीय निर्वाचनमा जिताउन लाग्ने भन्दै स्थानीय चुनावमा सहयोग मागेका थिए । तर अमरेशले सहयोग त गरेनन् नै, उल्टै हराउन भूमिका खेले ।
अमरेशले आफूलाई महाधिवेशन प्रतिनिधि नबनाएको, आफ्ना निकटलाई क्रियाशील सदस्यता नदिएको, नेतृत्व गुमाएको झोंकमा अन्तर्घातबाट बदला लिन खोज्दा पार्टी त कमजोर भयो नै उनको जनाधार समेत छिन्न भिन्न भएको छ । उनी निर्वाचित क्षेत्र नम्बर ४ र ३ मा पार्टीलाई कमजोरमात्रै बनाएनन् जनआक्रोश पनि उनीप्रति बढ्यो ।
अर्कोतिर अन्तर्घात गरेको प्रमाणित हुने सबै रिपोर्ट हेरेर कांग्रेस केन्द्रीय कार्यालयले कारवाही गर्न जिल्लालाई अधिकार दिएको छ । जिल्ला कार्यसमितिले अमरेशमाथि कारवाहीको तयारी गरेको छ । अन्तर्घात गरेको प्रमाणित हुने रिपोर्टहरु पालिका पालिकाबाट आएपछि कांग्रेस सर्लाही जिल्ला कार्यसमितिले अमरेशमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । आफूमाथि अनुशासन र विधानअनुसार कारवाही तथा निष्कासन हुने सूचना पाएपछि अमरेशले सर्लाही छोड्ने निर्णय गरेका छन् । उनीनिकट नेताहरुका अनुसार अमरेशले अब सर्लाहीमा सकिँदैन, महोत्तरीबाट चुनाव लड्छु भन्दै आएका छन् । कारवाही हुनुअघि नै महोत्तरी पलायन हुने उनको योजना रहेको छ । अन्तर्घातबाट दुख पाएका कांग्रेसका नेता कार्यकर्ताहरु कारवाहीको डरले अमरेश सिंह सर्लाही छोडेर महोत्तरी भाग्न लागेको टिप्पणी गरेका छन् ।