काठमाडौं। भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि भएको छ । विश्वभर विभिन्न देशका बौद्ध धर्मालम्बिहरुको पवित्र स्थल एवं सर्वसाधरणको बिशेष पर्यटकिय स्थलकारुपमा रहेको लुम्बिनीमा दुई सातामै १२ हजार बढी पर्यटक भित्रिएका छन् ।
लुम्बिनीदेखि भारतको कुशीनगरलगायतका क्षेत्रलाई पर्यटकीय रुटकारुपमा विकास गर्ने उद्देश्यसहितको जेठ २ गतेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले यसमा थप योगदान पुर्याएको छ ।
जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय मोदी नेपाल आएका थिए । मोदीको भ्रमणले नेपाल, भारत मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमै लुम्बिनीको पर्यटकिय विकासमा ठूलो टेवा पुर्याउने ठानिएको थियो ।
जेठ २ मोदीको भ्रमणयता मात्रै १२ हजार ७ सय ७० भारतीय पर्यटकले लुम्बिनी आएर मायादेवी मन्दिरको दर्शन गरेका छन् ।
भारतीयसँगै लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आगमनसमेत बाक्लिएको छ । लुम्बिनी विकास कोषले दिएको तथ्याङ्कअनुसार मे महिना (१८ वैशाखदेखि १७ जेठसम्म)मा मात्र ७ सय ८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुकबाट र ८६ हजार २ सय ४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।
मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि थुप्रै छन् । पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन बढेको छ । सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २ सय ६ जनाले लुम्बिनीको दर्शन गरेका थिए । यो सङ्ख्या २०२१ मा बढेर ४३ हजार ७ सय ३२ पुगेको छ ।
कोभिड१९को महामारीका कारण केही सुस्त भएपछिको पर्यटन क्षेत्र पछिल्लो पाँच महिनामा अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७ सय ७५ भारतीय पर्यटक लुम्बिनी आएका छन् ।
यस्तै लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढेको छ। सन् २०२१ मा एक हजार १९७ जनामा मात्र तेस्रो मुलुकको पर्यटक भएकामा सन् २०२२ को पाँच महिनामा दुई हजार ७३७ पुगेको छ ।
विदेशी पर्यटकहरू अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याणड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् । विगतका वर्षमा श्रीलङ्कन पर्यटक आउने गरे पनि अहिले भने उक्त देशबाट पर्यटक आउने सङ्ख्यामा भारी गिरावट आएको छ ।
लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपालीले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२१ मा चार लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरे ।