Logo

बुधवार, आश्विन १९ गते २०७९

जिल्ला सभापति सुरेन्द्र सिंहले गरे अन्तर्घाती अमरेशको भण्डाफोर, कारवाहीको तयारी

जिल्ला सभापति सुरेन्द्र सिंहले गरे अन्तर्घाती अमरेशको भण्डाफोर, कारवाहीको तयारी

नेपाल पाना श्रावण २६ २०७९
  • 6.5K
    SHARES
  • जिल्ला सभापति सुरेन्द्र सिंहले गरे अन्तर्घाती अमरेशको भण्डाफोर, कारवाहीको तयारी

    काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पार्टीभित्रका अन्तर्घाती अमरेशकुमार सिंहको भण्डाफोर गरेका छन् ।

    सभापति सिंहले अमरेशमाथि गाउँ, क्षेत्र र प्रदेशले कारवाही गरेर जिल्लामा सिफारिस पठाएको भन्दै अब जिल्लाले पनि अनुशासनको कारवाही गर्ने बताए ।

    यस्तो छ जिल्ला सभापति सिंहको धारणा :

    पार्टीको गतिविधिविपरीत काम गरिरहेका छन् । अमरेशकुमार सिंहले आफ्नो गाउँमा आफ्नो वडामा अन्तरघात गरेका छन् । उनको भाईलाइ ६ सय भोट परेको वडामा पार्टीको मेयर उम्मेदवारलाई एक सय भोटमात्रै परेको छ । योभन्दा बढी अन्तर्घात के हुन्छ ? अमरेश कांग्रेसभित्र शक्तिमा छैनन् । जिल्ला र क्षेत्रमा शक्तिहाली छैनन् । स्थानीय तह निर्वाचनमा आफ्नो क्षेत्रमा बलरा नगरपालिकामा छाता (जसपा)लाई भोट मागे ।

    गोडैता नगरपालिकामा एमालेका लागि भोट मागेका थिए । रामनगरमा स्वतन्त्र उम्मेदवार उठाएर कांग्रेस हराउन लागे । स्थानीय तहको निर्वाचनपछि जिल्ला र क्षेत्रको सम्पर्कमा छैनन् । अन्य पार्टीसँग साँठगाँठ गर्दै हिँडेका छन् । नेपाली कांग्रेसलाई ध्वस्त पार्ने, सिध्याउने, विपक्षीसँग अमरेशको साँठगाँठ छ ।

    नेपाली कांग्रेसविरुद्ध गतिविधि गरिरहेका छन् । उनको साँठगाँठ एमाले, जसपासँग देखिन्छ । नेपाली कांग्रेसलाई सखाप पार्न लागिपरेका छन् । उनका अन्तर्घाती गतिविधिले अमरेशकुमार सिंह अब नेपाली कांग्रेस रहेनन् । कांग्रेस नै नरहेपछि कसरी संघीय निर्वाचनको टिकट पाउँछन् । त्यसमाथि क्षेत्र र प्रदेशले कारवाही गरिसकेको छ । जिल्लाले पनि गर्देछ ।

    रुखका उम्मेदवारलाई नसघाएर सूर्य र छाता तथा स्वतन्त्र उम्मेदवार खडा गर्ने मान्छेलाई कसरी कांग्रेसले टिकट दिन्छ ? उनको न भारतसँग सम्पर्क छ, न अरुसँग छ ? त्यो सबै भ्रम हो । यत्रो सम्बन्ध भएको मान्छेले किन जिल्लाका लागि केही गरेन ? जिल्लालाई केही थाहा छैन ।

    कांग्रेसको नेता र कार्यकर्ताको विरोधमा लागिरहेका छन् । कांग्रेसलाई कमजोर हरेक हिसाबले लागेका छन् । तर पनि कांग्रेस बलियो बनेर आएको छ । कांग्रेस सिद्धिएको छैन, अमरेशकुमार सिद्धियो । सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसको गढ हो । त्यहाँ कांग्रेसको टिकट लिएर जो जान्छ त्यो जित्छ ।

    अमरेशको साँठगाँठ नेपाली कांग्रेसबाहेक अन्य दलसँग छ । कांग्रेसको कुनै मान्छेसँग सम्बन्ध छैन । कांग्रेस हराउन लागेका मान्छेहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । गोडैता नगरपालिकामा कांग्रेस उम्मेदवार उपेन्द्र कुशवाहलाई हराउने श्याम साहलाई काठमाडौं बोलाएर हराएको खुसीमा दोसल्ला ओढाएका छन् ।

    अमरेश सिंहका लागि सर्लाही कांग्रेसले धेरै योगदान गरेको छ, यो ठाउँमा पुर्याएको छ । तर अमरेशले कांग्रेसलाई कमाई खाने भाँडो बनाए । अमरेशले कांग्रेसका लागि केही गरेका छैनन् । अमरेशले कांग्रेस छोडे भने उनलाई एकजनाले पनि पत्याउनेवाला छैनन् । कांग्रेसले बनाएको हो अमरेशलाई ।

    तर अहिले अमरेशलाई कांग्रेसका साथीहरुले मानेको छैन । पार्टीले अरु जसलाई टिकट दिए पनि मान्छ तर अमरेशलाई मान्दै मान्दैन । पार्टी सभापति शेरबहादुर देउवाले अमरेश सिंहलाई टिकट दिने मलाई लाग्दैन । किनभने शेरबहादुर देउवा कांग्रेसको सभापति हो । अमरेश अन्य पार्टीको भइसकेका छन्, अनि कसरी टिकट दिन्छन् ? अमरेशलाई टिकट दियो भने त्यहाँ कांग्रेस सखाप हुन्छ । किनभने देउवा दाईले गाछिछापमा टिकट दिएका उम्मेदवारलाई अमरेशले भोट नदिएर हराइदिएका छन् ।

    यति गर्दा पनि सभापतिले टिकट दिनुहुन्छ ? अमरेश सिंहलाई हामी नेता मान्दै मान्दैनौं । कांग्रेस सखाप पार्न अरु पार्टीको नेतृत्व गरिरहेकालाई कसरी नेता मान्ने ? २०७४ मा हामीले नै अग्रमोर्चामा रहेर अमरेशलाई जिताएको हो । तर पछिल्लो समय उनले स्थानीय चुनावमा आफ्नै उम्मेदवार हराउने, नेता कार्यकर्ता गलाउने गतिविधि गरिरहेका छन् । जसका कारण कार्यकर्ताले जवाफ दिएका छन् । उनलाई महाधिवेशन प्रतिनिधि चुनेनन् ।

    नेपालभित्र महाधिवेशन प्रतिनिधिमा नआउने अमरेश एकमात्र सांसद होलान । म नेपाली कांग्रेसको हकहितमा काम गर्छु । कांग्रेस जोगाउन जस्तोसुकै बलिदानी दिन तयार छु । परिणामले नै म ठोकुवा गर्छु । मधेस प्रदेशमा सबैभन्दा बढी सीट जितेको मेरो जिल्ला हो । २० पालिकामा १२ ठाउँमा जितेको हो ।

    अमरेशले तीनवटा पालिकामा हराउनुभयो । नभए नेपालमै धेरै पालिका जित्ने पहिलो जिल्ला हुन्थ्यो । मधेस नेपाली कांग्रेसको उर्वर भूमि हो । सर्लाहीमा तीन वटा निर्वाचन क्षेत्रका पालिकामा मतका हिसाबले नेपाली कांग्रेस पहिलो भएको छ । एउटा क्षेत्रमा दोस्रोमा छौं । तीनवटा क्षेत्रमा हाम्रो जित सुनिश्चित छ ।

    अर्कोमा पनि मेहनत गरेभने जित्छौं । अमरेशले कांग्रेस फुटाउने कल्पना पनि गर्न सकिन्न । फुटाउन सक्दैनन् । उनीसँग मान्छे नै छैन । त्यो त सावित भइसक्यो । महाधिवेशन प्रतिनिधिसमेत नजितेकोले सावित भइसक्यो । उनको नीति, रावणजस्तो घमण्ड, अहंकारले भविष्य अन्धकारमा छ । अमरेशसँग कुनै क्षमता र पहुँच छैन । क्षमता भएको भए बलियो कांग्रेसलाई छोडेर एमाले, माओवादी, स्वतन्त्रलाई बोक्थे । कांग्रेसको यस्तो संगठन बर्बाद गर्न खोजेका छन् । कांग्रेसका साथीबाट बाहिर गइरहेका छन् । अमरेशले कांग्रेसको केही पनि गर्न सक्दैन ।

    जसलाई केन्द्रले टिकट दिन्छ उसैले जित्छ । अमरेशले जित्ने कुरै छैन । कारवाहीको प्रक्रिया अगाडि बढेकाले टिकट दिने कुरै छैन ।

    मधेसमा कांग्रेस एक्लै सक्षम

    मधेसमा कांग्रेस एक्लै लड्न पनि तयार छ । स्थानीय तहको परिणामले त्यो देखाएको छ ।कांग्रेसको हाइटअनुसार गठबन्धन पनि जानुपर्छ । मधेस प्रदेशमा सबभन्दा बढी कांग्रेसको सीट हुनुपर्छ । केन्द्रले पनि यही स्पिरिटमा जाने देखिएको छ । कांग्रेस भनेको मधेस हो, मधेस भनेको कांग्रेस हो, यो कुरालाई केन्द्रले नजरअन्दाज गर्ने छैन भन्ने विश्वास छ ।

    श्रावण २६, २०७९ बिहिवार १२:१८:०८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend