Logo

आइतवार, मंसिर १८ गते २०७९

माओवादी छोडेर प्रचण्डकै बुहारीसँग भिड्दै हरिना, कञ्चनपुर–१ मा भत्किएला परिवारवाद ?

माओवादी छोडेर प्रचण्डकै बुहारीसँग भिड्दै हरिना, कञ्चनपुर–१ मा भत्किएला परिवारवाद ?

नेपाल पाना आश्विन १५ २०७९
  • 5.8K
    SHARES
  • माओवादी छोडेर प्रचण्डकै बुहारीसँग भिड्दै हरिना, कञ्चनपुर–१ मा भत्किएला परिवारवाद ?

    काठमाडौं । समाजसेवी हरिनादेवी भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएकी छन् ।

    कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ६ चान्देव निवासी भट्टले कञ्चनपुर–१ बाट उम्मेदवारी घोषणा गरेकी हुन् । पार्टीले टिकटका लागि हरिनासहित आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । हरिना यसअघि माओवादी केन्द्रमा सक्रिय थिइन् ।

    तर माओवादीमा इमान्दार कार्यकर्ताभन्दा परिवारबादलाई अवसरहरुमा प्राथमिकता दिने र तल्लो तहमा संगठन बनाउन ग्राउण्डमा मेहनत गर्ने नेता कार्यकर्तालाई उपेक्षा गरिएपछि हरिनाले पार्टी परित्याग गरेकी छन् । सामाजिक गतिविधि तथा विपन्नलाई सहयोगमा सक्रिय अभियन्ता हरिना माओवादी छाडेर परिवर्तन ल्याउन माओवादीभित्र रहेको परिवारवाद परास्त गर्न मैदानमा उत्रिएकी हुन् ।

    माओवादीमा अहिले अध्यक्ष प्रचण्ड नै परिवार मोहमा छन् । उनले छोरीलाई मेयर, ज्वाई र बुहारीलाई सांसद, पार्टीको केन्द्रीय सदस्य बनाएका छन् । बुहारी बिना मगरलाई फेरि सांसदमा दोहोर्याउन खोज्दै छन् । अरु कार्यकर्ता पालो नआउने र परिवारका सदस्य दोहोरिरहने प्रवृत्तिलाई चुनौती दिँदै हरिना चुनावी मैदानमा उत्रिएकी हुन् । उनी यसपालि प्रचण्डकी बुहारी बिना मगरको क्षेत्र कञ्चनपुर १ बाट चुनावी प्रतिस्पर्धामा छिन् ।

    अध्यक्ष प्रचण्डसँग सिधै पहुुँच भए पनि बिनाले आफू मन्त्री भएर फाइदा लिने र क्षेत्रका लागि केही नगरेको भनेर चौतर्फी गुनासो छ । यस्तोमा चुनावी मैदानमा अर्की महिला नेतृ हरिनाको प्रवेशले यो क्षेत्रमा उत्साह छाएको छ । आममतदातामा परिवर्तनको आश जागेको छ । घण्टी चुनाव चिन्ह लिएर हरिना हसियाँ हतौडा चिन्हकी उम्मेदवार मगरलाई चुनौती दिन लागेकी हुन् ।

    ‘कञ्चनपुरको विकास र नागरिकको अवस्था बदल्ने मेरो उद्देश्य हो । विशेषगरी क्षेत्र नम्बर एकका जनताको मागअनुसार म चुनावी मैदानमा आएकी हुँ । उहाँहरुले मलाई अनुमोदन गर्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

    उम्मेदवारी घोषणापछि राम्रो प्रतिक्रिया पाइरहेकी हरिनाले भ्रष्टाचार, अनियमितता, कुशासनको अन्त्य, सामाजिक न्यायसहितको सुशासनको प्रत्याभूति दिने, दिगो समानुपातिक विकास लक्ष्य हासिल गर्ने, रोजगारीको वातावरण तयार गर्ने तथा नागरिकलाई शिक्षा र स्वास्थ्य राज्यको प्रमुख काम कर्तव्यभित्र पार्ने पार्टीको लक्ष्यलाई आत्मसात गराउने दृढ संकल्प लिएकी छन् ।

    ‘अब उधारो भाषण र पटक पटक जिताउने जनतालाई धोका दिनेलाई यसपालि चुनावमा हिसाब किताब हुन्छ । परिवर्तनको जित हुनेछ,’ उनले भनिन् । हरिनाले छिट्टै आफूले आगामी पाँच वर्षमा गर्ने कामहरु समेटेर घोषणा पत्र सार्वजनिक गर्ने पनि बताएकी छन् ।

    आश्विन १५, २०७९ शनिवार १५:११:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बीना मगर

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend