Logo

आइतवार, मंसिर १८ गते २०७९

दसैंको मुखमा कांग्रेसले गर्यो पाँच बोल्ड निर्णय, कम्युनिस्टहरु पछि परे

दसैंको मुखमा कांग्रेसले गर्यो पाँच बोल्ड निर्णय, कम्युनिस्टहरु पछि परे

नेपाल पाना आश्विन १७ २०७९
  • 2.7K
    SHARES
  • दसैंको मुखमा कांग्रेसले गर्यो पाँच बोल्ड निर्णय, कम्युनिस्टहरु पछि परे

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पाँच वटा महत्त्वपूर्ण निर्णय गरेको छ । सबै पक्षलाई समेटेर समानुपातिक बन्दसूची बुझाई पार्टीलाई एकताबद्ध बनाएका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा प्रत्यक्षतर्फ पनि शतप्रतिशत नतिजा ल्याउन पार्टीको १४ सदस्यीय शक्तशाली कमिटीबाट कठोर निर्णय गराएका हुन् ।

    यो निर्णय लागु भएसँगै कांग्रेसको शतप्रतिशत जित सुनिश्चित छ । महामन्त्री विश्वप्रकाश शर्मामार्फत प्रस्ताव प्रस्तुत गराउँदै सभापति देउवाले प्रत्यक्षतर्फको उम्मेदवारमा कठोर मापदण्ड लागु गर्ने निर्णय गराएका हुन् ।

    यी आधार मापदण्ड प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवारको चयनका लागि लागु हुने छ । जसमा उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनकाअनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने निर्णय भएको छ ।

    बैठकले असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरे बमोजिम सभापतिले नेतृत्व पंक्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाए पश्चात् अब प्रतिनिधि सभा एवं प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ ।

    बैठकले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन अपीलसमेत गरेको छ ।

    आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    विजया दशमी लगायत सबै चाडपर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा शुभकामना व्यक्त गरेको कार्यसम्पादन समिति बैठकले निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रुपले एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुने निर्णयसमेत गरेको छ ।

    आश्विन १७, २०७९ सोमवार २०:३५:४४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend