Logo

आइतवार, मंसिर १८ गते २०७९

निर्वाचन २०७९ : गठबन्धन गरेका एमाले-जसपाकै नेताहरूबीच कडा टक्कर

निर्वाचन २०७९ : गठबन्धन गरेका एमाले-जसपाकै नेताहरूबीच कडा टक्कर

नेपालपाना मंसिर ३ २०७९
  • 2.4K
    SHARES
  • निर्वाचन २०७९ : गठबन्धन गरेका एमाले-जसपाकै नेताहरूबीच कडा टक्कर

    काठमाडौं । मंसिर ४ गते हुन लागेकाे प्रतिनिधि तथा प्रदेशसभाकाे निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धाका लागि अर्को गठबन्धन गरेका केपी शर्मा ओली नेतृत्वकाे नेकपा (एमाले) र उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा) नेपालबीच अधिकांश क्षेत्रमा असमझदारी देखिएको छ । 

    चुनावी तालमेल गरेका बाँके, बारा, धनुषा, मोरङलगायतका क्षेत्रमा एमाले नेतृत्वको गठबन्धनका नेताबीच नै प्रतिस्पर्धा भइरहेको स्थानीय नेताहरूले बताएका छन् ।

    बाँके-२ मा एमाले–जसपाबीच सोझो टक्कर हुँदैछ । त्यस क्षेत्रमा जसपाबाट उम्मेदवारी दिएका इस्तियाक राईलाई हराउन एमालेका कार्यकर्ताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार धवल शमशेर राणालाई सक्रिय सहयोग गरिरहेका छन् 

    बाँके-२ मा सत्ता गठबन्नधका तर्फबाट नेपाली कांग्रेसका नेता सुदीपनरसिंह राणाले उम्मेदवारी दिएका छन् । प्रतिपक्षी गठबन्धनका दलबीचको झगडाले गर्दा राणालाई फाइदा पुग्नसक्ने बताइएको छ । त्यहाँँ एमालेले जसपालाई धोका दिएको जसपाका नेताहरूको भनाइ छ ।

    त्यस्तै बारा-३ मा एमालेको नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिएका छन् भने त्यस क्षेत्रमा जसपाले रामबाबु यादवलाई उम्मेदवार बनाएको छ । 

    रामबाबु अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । एमालेकै कारण त्यस क्षेत्रमा रामबाबुले हार्ने अवस्था बारा-३ मा कांग्रेसबाट फरमुल्र्लाह मन्सुरको उम्मेदवारी छ । एमाले–जसपा विवादले मन्सुरका पक्षमा पासा पल्टने सम्भावना बढेको कांग्रेसका स्थानीय बताउँछन् ।

    उता धनुषा-२ मा पनि एमालेले उमाशंकर अरगरैयालाई उम्मेदवार बनाएको छ । अन्तिम समयमा अरगरैयाले जसपा अध्यक्ष उपेन्द्र यादवसँग रिसाएर एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँलाई एमालेले टिकट दिएपछि एमालेकै पुराना नेताहरूसमेत असन्तुष्ट छन् । 

    २०७४ को निर्वाचनमा अरगरैयाले यादवकै पार्टीबाट चुनाव जित्नुभएको थियो । उहाँ एमालेमा गएपछि जसपाले धनुषा-२ मा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामकृष्ण यादव प्रतिष्पर्धामा हुनुहुन्छ । उता मोरङमा पनि जसपा र एमालेबीच टक्कर देखिएको छ ।

    एमाले र जसपाबीच छलफल हुँदा मोरङ-५ मा एमालेले जसपालाई छाड्ने सहमति भएको थियो । तर, यस क्षेत्रमा जसपाले उम्मेदवार बनाएका राजकुमार यादवविरुद्ध एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

    मोरङ एमालेका नेताहरू अहिले मण्डलको पक्षमा खुलेर प्रचारप्रसार सुरु गरेका छन् । एमालेको नेतृत्वले यो विषयमा गम्भीर नभएको जसपाका नेताहरूले आरोप लाउन थालेका छन् । 

    उता मोरङ-६ (२) मा एमालेका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएपछि त्यस क्षेत्रमा जसपाले उम्मेदवारी नदिने सहमति भए पनि जसपाले उम्मेदवारी खडा गरेर पर्शुरामलाई असहयोग गरेको आरोप जसपामाथि छ ।

    पार्टीको दोश्रो परियताका नेता अशोक राइलाई पनि एमालेबाटै धोका भएको जसपाका नेताहरूको बुझाइ छ । राईले सुनसरी-१ मा उम्मेदवारी दिएपछि त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । धरानका पूर्व मेयरसमेत रहेका नेता म्याङन्मोको प्रभाव राम्रो प्रभाव छ ।

    एमालेका स्थानीय नेताहरू म्याङन्मोको पक्षमा खुलेर प्रचार गरेका छन् । एमालेको यो रणनीतिले राइको जित्ने सम्भावना घटाएको भन्दै आन्तरिक छलफल नै चलेको जसपा निकट श्रोतको दाबी छ । 

    सुनसरी-१ मा कांग्रेसबाट सिताराम मेहेताले उम्मेदवारी दिनुभएको छ । पछिल्लो माहोल हेर्दा मेहेता र स्वतन्त्र उम्मेदवार म्याङन्मोबीच प्रतिस्पर्धा हुने र राई तेस्रो स्थानमा झर्न सक्ने स्थानीय रोहित मेहेताले बताउनुभयो ।

    मंसिर ३, २०७९ शनिवार १०:०८:५३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend