Logo

बुधवार, आश्विन १९ गते २०७९

संसारको आर्थिक वृद्धिदर थप घट्नसक्ने प्रक्षेपण

संसारको आर्थिक वृद्धिदर थप घट्नसक्ने प्रक्षेपण

नेपालपाना माघ ८ २०७५
  • 27.7K
    SHARES
  • संसारको आर्थिक वृद्धिदर थप घट्नसक्ने प्रक्षेपण

    डाभोस । अमेरिका–चीन व्यापार विवाद, बेलायतको यूरोपेली संघ (इयू)बाट हुने बहिगर्मनको प्रक्रियालगायतका गतिविधिका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउनसक्ने खतरा देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमबार प्रक्षेपण गरेको छ।

    मुद्रा कोषको विश्वव्यापी आर्थिक वृद्धिदर अनुमानबारे अद्यावधिक तथ्याङ्कमा भनिएको छ, 'विश्वव्यापी आर्थिक वृद्धिदरमा यस पहिले आशा गरिएभन्दा थप खराब अवस्था आउनसक्ने देखिएको छ।'

    मुद्रा कोषले करिब तीन महिना पहिले (गत वर्षको अक्टोबरमा) सार्वजनिक तथ्याङ्कमा विश्वव्यापी आर्थिक वृद्धि खस्किँदो अवस्थामा रहेको बताएको थियो।

    अन्तर्राष्ट्रिय आर्थिक प्रक्षेपणले सन् २०१९ को विश्वको कुल ग्राहस्थ उत्पादनमा ३.७ प्रतिशतले वृद्धि हुने जनाइएकोमा सोमबार सार्वजनिक प्रक्षेपणमा थप कटौती गरी कुल ग्राहस्थ उत्पादनमा ३.५ प्रतिशत मात्रले वृद्धि हुनसक्ने खतरा देखिएको जनाएको छ। मुद्रा कोषले सन् २०२० मा पनि आर्थिक वृद्धिदर मात्रै ३.६ प्रतिशत हुने अनुमान गरेको छ।

    विश्वव्यापी आर्थिक वृद्धिदरमा ह्रास आउनुमा एक महिना लामो अमेरिकी राष्ट्रपति र डेमोक्रेटिक पार्टीका सांसदहरूबीचको विवादका कारण संघीय कार्यालयहरूमा सेवामा अवरूद्धता, फ्रान्समा पँहेलो पहिरनधारीको लामो हड्ताल, अमेरिका–चीन व्यापार विवाद, बेलायतको इयूबाट हुने बहिर्गमन प्रक्रियामा अन्योलता, इटाली, जर्मनी र मेक्सिकोले भोग्नुपरेका आप्रबासी समस्याहरू लगायतका कारण रहेको मुद्रा कोषको भनाइ छ।

    तथ्याङ्कअनुसार विश्वकै दुई ठूला अर्थतन्त्र अमेरिका र चीनमा पनि आर्थिक वृद्धिदरमा कटौति हुने देखिएको छ । अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा सन् २०१९ मा २.५ र सन् २०२० मा १.५ प्रतिशतको वृद्धि हुने बताइएको छ। त्यसैगरी चीनको आर्थिक वृद्धि दरमा ६.२ प्रतिशतको विस्तार हुने अनुमान मुद्रा कोषको छ।

    वर्ल्ड इकोनोमिक आउटलुकले बेलायतमा सन् २०१९ मा आर्थिक वृद्धि १.५ प्रतिशत रहने देखाएको छ। यो तीन महिना पहिलेको तथ्याङ्कसँग बराबर छ। यद्यपि बहिर्गमन प्रक्रियामा देखिएको अन्यौल थप बढेमा यसको थप प्रभाव पर्ने र आर्थिक वृद्धिदरमा कमी आउने बताइएको छ।

    माघ ८, २०७५ मंगलवार ०९:१५:४० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend