सानफ्रान्सिस्को । बहुचर्चित सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्विटरको सञ्चालक समितिबाट राजीनामा दिएका छन्।
उनले आफू ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजिनामा दिएको बताएका छन्। ‘अमेरिकी सेकुरिटी एन्ड एक्सचेन्ज कमिसन’मा रहेको फाइलअनुसार उनको राजीनामा फेब्रुअरीको अन्त्यपछि कार्यान्वयनमा आउनेछ।
उनले राजिनामाबारे प्रष्ट पार्दै लेखेका छन्, ''मेरा लागि १३ वर्षको समय असाधारण रह्यो। म ट्विटर कम्पनीसँग रहँदाको अवस्थामा कम्पनीले गरेको प्रगतिप्रति गर्व गर्न चाहन्छु साथै मैले अन्य काममा समय दिनु परेकोले यसबाट छुट्टिएको छु ।''
उनी हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृतसमेत रहेका छन्। विलियम्सले सन् २००८ देखि २०१० सम्म ट्विटरको प्रमुख कार्यकारी अधिकृत रहेर भूमिका निर्वाह गरेका थिए।
विलियम्सले सन् २०११ मा ट्विटर छोडेको भएपनि अहिलेसम्म कार्यसमितिका सदस्यका हैसियतमा रहेका थिए। सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत सेयर बिक्री गरिसकेका छन।
कम्पनी छाड्ने घोषणासम्बन्धी ट्विटमा विलियम्सले ट्विटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिँदै कम्पनीको सुन्दर भविष्यको कामना गरेका छन्।