'सी विचारधारा' को नेपाली आलाप : छिमेकीलाई आँगन बनाउन आफ्नै दैलो मास्ने दुस्साहस !


कैलाश शिवाकोटी प्रकाशित: २०७६-६-७ गते
'सी विचारधारा' को नेपाली आलाप : छिमेकीलाई आँगन बनाउन आफ्नै दैलो मास्ने दुस्साहस !

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउनुअघि काठमाडौंका मिडियादेखि छापासम्म एउटा अचम्मको रुझान देखिएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको ब्यानरमा जुन शीर्षक राखेर कार्यक्रम भईरहेका छन्–त्यसले अहिलेसम्म विचार निर्माण र मन्थन प्रकृयामा नेपाल कहिल्यै प्रवेश गरेन, त्यसैले अरुद्वारा खडा गरिएको वाद या विचारधारालाई पो अंगाल्ने कि भन्नेतर्फ जिम्मेवार मानिसहरु नै दिग्भ्रमित भएको देखिएको छ । 

सत्तारुढ नेकपाको केन्द्रीय स्कुल विभागले असोजको ६ र ७ गते (सोमबारदेखि मंगलबारसम्म) चीनपरस्त नै भन्नमिल्ने खालको एउटा छलफल कार्यक्रम चलायो । सी जिनपिङ्ग विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रम नाम दिइएको सो जमघटमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल नै सहभागी भए । 

यो पनि पढ्नुहोस : नेपालको अर्थतन्त्र सिध्याउने चिनियाँहरुको योजना विफल, प्रहरीले हात पारे ठुलो सफलता !

चीनमा कम्युनिष्टहरुले चलाइरहेको शासन र त्यसको पद्दती तथा त्यहाँको विकासका चरणहरु बुझ्न राखिएको भनिएको छलफलमा सत्तारुढ पार्टीका २ सय केन्द्रीय नेता तथा वामपन्थी बुद्धिजीविहरुले सहभागीता जनाए । 

कुनै विचारधारामाथि बहस नै नहुनुपर्ने भन्ने हुँदैन । नेपालका विश्वविद्यालयमा प्राज्ञिक अध्ययनदेखि गाउँघरका पिँढी र फलैँचासम्म नीति तथा विचारहरुमाथि प्रत्यक्ष/परोक्ष बहस र मन्थन भईरहेकै छन् । नेपालमा गान्धीको अहिंसावादी मार्गबारे जति बहस भएका छन्, त्यति नै बहस सशस्त्र आन्दोलनको पक्षपोषण गर्ने कम्युनिष्ट विचारधाराहरुबारे पनि हुन्छन् । अझ कम्युनिष्टहरुको बाहुल्यता रहेको मुलुकमा मार्क्सवाददेखि माओवादसम्मका कम्युनिष्ट दर्शनहरुमा विमर्श हुनु कुनै नौलो विषय होइन । कम्युनिष्टहरुकै नेतृत्वको विद्रोहहरुले व्यवस्था परिवर्तन नै भइसकेपछि वा विश्वका हजारौं विश्वविद्यालयहरुले नै मार्क्सवादको अध्ययन गराएको अवस्थामा कुनै विचारधारामाथि निषेधको अस्त्र प्रयोग गर्नु मनासिब हुँदैन ।

राजनीतिक वाद या विचारधारा के हो ? त्यो देश र जनताको समुन्नतीका लागि हो कि होइन ? माटो सुहाउँदो वा नेपाली मौलिकताको विचारधारा भनि यसबीचमा नेताहरुले ल्याएका नीतिहरु के कागजमा गरिएको केरमेट मात्रै थियो ? के अहिलेसम्म नेपालमा कुनै विचार विकास हुन सकेनन् ? वीपीको समाजवाद, मदन भण्डारीको जबज, माओवादी आन्दोलनको प्रचण्डपथ या प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अगाडी सारिएको समृद्ध नेपाल सुखी नेपाली जस्ता घरेलु विचार र नीतिहरु फगत आयातित विचारधाराका लागि पहिल्यै गरिएको कोरस मन्थन मात्रै थियो ? कोही चिनियाँ शासकको देवत्वकरण बहस गर्नुअघि नेताहरु आफैंले अघि सारेका घरेलु नीति र योजनाहरुलाई किन स्वयंले तिलाञ्जली दिइरहेका छन् ? राष्ट्रवादको जार्गन अलापिरहेका राजनीतिज्ञ र बौद्धिकहरु किन बहसको लक्ष्मणरेखा नाघिरहेका छन् ? यी र यस्ता तमाम प्रश्नहरुको जवाफ नदिईकन सृजना गर्न खोजिएको बाह्य हुण्डरीमा नेपालको आगतलाई डुबाउन खोजिनु दुःखद छ । 

तर नेपाली नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधीहरुका अघि जसरी सी विचारधाराबारे पुलकित भएर भाषण गरे, त्यो उनीहरुकै लागि विष्मयकारी हो भन्ने सम्झिएनन् । वि.सं. २०५२ सालदेखि आफ्नै नेतृत्वमा जनयुद्ध शुरु गरि राजतन्त्र पल्टाएका नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको लामो अनुभवबाट समेत शिक्षा लिँदै नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने र समाजको राजनैतिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गर्ने प्रयत्न गर्दै आएको बताइदिए ।

यो पनि पढ्नुहोस : युरोपेली विज्ञहरु भन्छन्-'रेलमार्गका नाममा चीनले नेपाललाई ऋणपासोमा फसाउन सक्छ !'

युद्धकालमा चीनलाई नै पूँजीवादी बुर्जुवा मुलुकको संज्ञा दिएका प्रचण्डले आफ्नै नाममा स्थापित गरेको प्रचण्डपथलाई त बिर्सिए नै, देशका अन्य राजनीतिज्ञहरुले अघि सारेका विचारबारे पनि एकशब्द खर्चिएनन् । यो हदसम्म आइपुग्नु उनकै राजनीतिक जीवनको ट्रयाजेडी हो भन्दा फरक पर्दैन । 
नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि धक फुकाएर सि जिनपिङ्ग विचारधाराको प्रशंसा गरे । यो विचारधारालाई विकास, समृद्धि र शान्तीपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ विचारधाराका रुपमा अर्थ्याए । 

चीनको प्रशंसा गर्दैगर्दा नेपालका कम्युनिष्ट नेताहरुले हाम्रा स्पष्ट विचार यी हुन्, हामीले नै विकास गरेको अवधारण यो हो, यसमाथि पनि चीनियाँहरुले विमर्श गरुन् भनेको सुनिएन । सी विचारधाराको एकोहोरो प्रशस्ती र ब्याख्या गरिरहँदा सायद चिनियाँ कम्युनिष्टहरु पनि चकित परे होलान् कि खासमा चिनियाँ कम्युनिष्टहरु हामी हौं कि नेपालका नेताहरु हुन् ? 

के हो सि जिनपिङ्ग विचारधारा 
शासकहरुमा शक्तिशाली बन्ने होड नयाँ होईन । अर्को देशको शासक या आफुभन्दा अघि र पछिका शासकहरुलाई समेत छायाँमा पार्न सत्तामा आसिनहरुले सँधै आफुलाई अब्बल सावित गराउन चाहन्छन् । चीनमा अहिले सी जिनपिङ्गले त्यसै गरिरहेका छन् । 

आफुमा अधिकांश शक्ति केन्द्रीकृत गर्दै सी माओपछिका शक्तिशाली नेता बनेका छन् । कम्युनिष्ट पार्टीको अधिनायकत्व रहेको चीनमा कोही शासकले यसो गर्नु अनौठो होईन । तर चीनलाई संकटको खाडलबाट उतारेर संसारमै उदाहरणीय बनेका देङ्ग स्याओ पिङ्गको इतिहासलाई नै विस्थापित गर्दै सीले अहिले आफ्नै नामको विचारधारालाई राजनीतिक दर्शनको लेपन लगाउँदै चिनियाँ कम्युनिष्ट पार्टीका विधानमा समावेश गरिदिएका छन् ।

यो पनि पढ्नुहोस : विश्वलाई ऋणको पासोमा बेरिरहेको चीन आफैं फस्यो, हुवावेको व्यापारदेखि आर्थिक बृद्धिदरमै झट्का !

सो विचारधारालाई विश्वव्यापी बनाउने महत्वकांक्षाका साथ अहिले सीले पार्टीका सबै मेसिनरीहरुलाई चीन र विश्वभर खटाएका छन् । चीनबाट विश्वका अनेकन स्थानमा पुग्ने कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताहरुले सो विचारलाई विश्वकै अब्बल विचारधाराका रुपमा ब्याख्या गर्न कुनै कसर बाँकी राखेका छैनन । तर, कम्युनिष्ट शैलीको मिचाहा विकास गरेर नागरिकको लोकतन्त्र एवं अधिकार कुल्चिरहेको तथ्य कसैबाट छिपेको छैन । यस्तो लाग्छ कि सीले महान शासक बन्ने होडमा चिनियाँ मुद्राबाट माओको फोटो पनि हटाइदिनेछन् र चिनियाँ इतिहासकै शक्तिशाली शासकका रुपमा आफ्नो प्रशस्ती गाउन देश र बाहिरका कम्युनिष्टहरुलाई बानी पार्नेछन् । 

नेता सीले आफ्नो स्थान पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङ्गकै सरह बनाएका छन् । यसले एक व्यक्ति सीको पहिचानलाई पार्टीकै रुपमा स्थापित गरेको छ र सत्तामा बलियो पकड कायम गराईदिएको छ । सीले आफ्नो शासनभर अबलम्बन गरेको भनिएको कम्युनिष्ट मान्यतालाई नै सी विचारधाराको रुपमा ब्याख्या गरिएको छ । उनले सो विचारधारामार्फत पूर्ण र गहिरो सुधार तथा नयाँ विकासशील विचारका लागि आह्वान गरेका छन् । चीनियाँ जनमुक्ति सेनामाथि पार्टी अर्थात सीको पूर्ण अधिकार कायम गराईएको छ र त्यसैमार्फत उनले सेनामा आफु निकट बरिष्ठ सैनिक अधिकारीहरुको थुप्रो लगाएका छन् । यसको अर्थ पार्टीका आलोचक नेता र नागरिकलाई दमन गर्नु हो भन्ने प्रष्ट संकेत मिल्छ । संस्थापन पक्षको विरोध गर्ने र सुधारका लागि वकालत गर्ने नेताहरुलाई चीनियाँ कम्युनिष्ट पार्टीले विभिन्न आरोप लगाई फाँसी र जेलको बाटो देखाईरहेको छ । 

६६ बर्षका सीले चीनमा आफ्नै शासनअवधि झण्डै एकदशक पु-याउन लागिसकेका छन् । पार्टीको विधानमा आफ्नै नामको विचारधारा लाद्नु र त्यसलाई दर्शनको रुपमा अथ्र्याउनुले सी चीनमा जीवनपर्यन्त अविछिन्न शासक बन्न चाहने मनोकांक्षालाई इंगित गर्दछ । उनी चीनको सत्तामा कहिलेसम्म विराजमान हुन्छन् भन्ने सवाललाई विश्व परिवेश र घरेलु परिस्थितिले नै निर्धारण गर्नेछ । 

यो पनि पढ्नुहोस : वीगुर अल्पसंख्यकमाथि आततायी अत्याचार गर्दै चीन, जिन्जेन क्याम्पभित्र मृत्यु र अत्याचारको रेकर्ड !

यो विचारधारामा विश्वका जल्दाबल्दा समस्याहरुलाई समेत सिले समावेश गराएका छन् । विश्वकै प्रमुख प्रदुषकमध्येको एक रहेको आफ्नो देशलाई वातावरण संरक्षणका क्षेत्रमा संवदेनशील छ भन्ने देखाउन वातावरण संरक्षणका विषयलाई पनि आफ्नो विचारधारा भनेका छन् । 

नेपालमा विरोधका स्वर 
‘चीन व्यापारी हो, उसले नाफामात्रै हेर्छ,’ पूर्वअर्थमन्त्री एवं नेकपा नेता सुरेन्द्र पाण्डेले चिनियाँ कम्युनिष्टहरु र उनीहरुको प्रसंशा गर्न नथाक्ने नेताहरुकै लागि यही मर्मका साथ लामो भाषण गरिदिए । सम्भवत : त्यो फ्लोरमा आएको यो नै सबैभन्दा तीखो र प्रशोधित विश्लेषण थियो । आफु अर्थमन्त्री हुँदा सहयोगको अपेक्षा गर्दै चीन जाँदा उनीहरुले कसरी तीतो बचन फर्काए र निहित स्वार्थका कुरा गरे भन्ने विषय पनि उनले नेपाल र चीनका सैयौं कम्युनिष्ट नेताहरुका अघि धक फुकाएर राखिदिए । 

नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नेपाल कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढिरहेको र त्यो सँधै रहने धारणा सार्वजनिक गरेका छन् । देशको भूराजनीतिक अवस्था र संवेदनशीलताको बारेमा पनि आफूहरु जानकार रहेको भन्दै श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा सी विचारधाराको अलापबारे घुमाउरो शैलीमा असन्तुष्टि पोखेका छन् । 

यो पनि पढ्नुहोस : 'ओबीओआर'मा जोडिएको बंगलादेश संकटमा, बन्दरगाह नै चीनले कब्जा गर्दै

वाम विश्लेषक एवं टिप्पणीकार खगेन्द्र संग्रौलाले त 'समाजवादका नाममा जनताका मुख थुनेर कठोर राज्य पूँजीवादको निरंकुश अभ्यासलाई सी विचारधारा भन्दै सत्ताधारी नेकपा डबलका सरकारी बुद्धिजीविहरुमाझ सी सरको भक्तिभजन शुरु भएछ, चीनबाट च्याङ्ग्रा निर्यात हुन्थे, च्याङ्ग्राको पछि लागेर अब सी विचारधारा निर्यात हुने भएछ' भनी ट्वीटरमै टिप्पणी गरेका छन् । 

नेपाल–चीन सम्बन्धको यथार्थता 
निश्चय नै भू–राजनीतिक दृष्ट्रिले नेपाल र चीनको सम्बन्ध निकै निकटको छ । तर नेपालका सत्ताधारी कम्युनिष्ट नेताहरुले के भुले भने चीनले जहिल्यै नेपाली शासकहरुसँग निकटको सम्बन्ध राख्छ, न कि राजनीतिक पार्टीहरुसँग । नेकपाको स्कुल विभागसँग कार्यक्रम गर्नु त चीनको कूटनीति मात्रै हो, किनकी अहिले नेपालमा सोही पार्टीको सरकार छ । 

चीनबाट नेपालले विकासका लागि जति सहायता अपेक्षा गरिरहेको छ, सो भन्दा बढी गुमाइरहेको छ । नेपालका परियोजनाहरुमा सस्तो दररेट राखेर ठेक्का हात पार्ने र निर्माण अलपत्र पारेर भाग्ने चिनियाँ कम्पनीहरु यसका दृष्टान्त हुन् । मेलम्ची आयोजनाको ठेक्का हात पारेको चाईना रेल्वेले त धरौटी राखेको नेपाली बैंकहरुलाई नै बिचल्ली बनाएर छाडिदिएको छ । बैंकिङ्ग प्रणालीबाट रकम चोर्नेदेखि नक्कली चिकित्सक बनेर नेपाली ठग्ने काममा चिनियाँहरुको बाक्लो संलग्नता छ । 

सन् १९५५ अगष्टमा दुईदेशबीच दौत्य सम्बन्ध स्थापित भएपछि सन् १९६१ मा सीमासन्धि र १९६१÷६२ मा सीमाङ्कन भएको थियो । १ हजार ४ सय १४ किलोमिटर लामो नेपाल–चीन सिमामा पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ गाडिएका छन् । तीमध्ये ३७, ३८, र ६२ नम्बरका स्तम्भ हराएका छन् । ५७औं नम्बरको सिमास्तम्भमा विवाद नै छ । गोरखाको तोम खोलामा पर्ने ३७ र ३८ नम्बरको सिमास्तम्भ सन् १९७८ मा सीमांकन हुँदैदेखि भेटिएको छैन भने  सोलुखुम्बुको नाम्पा भञ्ज्याङमा रहेको ६२ नम्बरको स्तम्भ हराएको छ ।

यो पनि पढ्नुहोस : चीनियाँ पालभित्र थुनियो 'राष्ट्रवाद' ! मेलम्चीको डेढ अर्ब रूपैयाँ धरौटी फिर्ताबारे चुइँक्क बोलेन सरकार

आर्थिक अपराधदेखि सिमा मिच्ने, नेपालको विकासका काम अलपत्र पार्ने र क्रमशः दबाब बढाउँदै नेपाललाई आफ्नो स्वार्थको मोहोरा बनाउने कसरमा भारतसँगै चीन पनि काँध मिलाएर अघि बढिरहेको छिपेको छैन । कुटिल चीनले कूटनीतिको कार्यहरु नबुझ्ने कुरै भएन, किनकी त्यसको एक प्रमुख कार्य आर्थिक तथा व्यापारिक लक्ष्य प्राप्ति गर्नुपनि हो । आर्थिक कुटनीतिक सञ्चालन गरी आफ्नो हितमा आर्थिक र व्यापारिक उद्देश्य हासिल गर्नु कुटनीतिको कार्य नै हो । यो काम चीनले गरिरहेको छ, तर विमानबाट चीनका उच्चपदस्थ दुईचार मंगोलियन अनुहार झर्नेबित्तिकै विमानस्थलमै छाँद हाल्न पुग्ने र मानमनितो गरेर प्रशस्ती गाईदिने नेपाली नेतृत्वको कूटनीति बुझाइ चाहिँ आत्मसमर्पणवादी देखिन्छ । 

चीनबाट जहिल्यै अनेक आकांक्षा राख्ने र सस्तो दान ग्रहण गर्ने नेपाली नेताहरुले यतिखेर कुटनीतिक नीति र चालबाजी पनि नबुझेको देखिन्छ । कूटनीतिमा ६ वटा नीतिहरु छन् : सम्झाई बुझाई गर्ने, पुरस्कार वा दान दिने, अग्रिम पुरस्कार दिने, धम्की दिने, अहिंसात्मक दण्डदिने र बल प्रयोग गर्ने । अन्तिमका दुईबाहेक चीनले नेपालमा सबै नीति प्रयोग गरिरहेको छ । सबै नीति अबलम्बन गरेको भारतभन्दा चीन दुई कदम पछि रहेपनि दक्षिणतर्फ मात्रै राष्ट्रवादको नागफुनि बजाईरहेको नेपालले उत्तरतर्फबाट बढिरहेको हर्कतलाई लगाम लगाउन ध्यान नै नदिएझैं देखिन्छ । 

ओली–प्रचण्डले भुलेको विगत 
नेपालका कम्युनिष्ट पार्टीहरु विचारधाराका सवालमा सबैभन्दा विभाजित रहँदै आएका छन् । साविकको एमाले र माओवादीबीच एकता हुँदा एमालेतर्फबाट जनताको बहुदलीय जनवाद र माओवादीतर्फबाट २१औं शताब्दीको जनवादलाई लिएर निकै माथापच्ची भयो । विचारधारा वा वाद निर्माण गर्ने, तर स्वार्थको कोपभाजनमा पारेर पार्टी जीवन नै सिध्याउनेसम्मका हर्कत नेपाली कम्युनिष्ट आन्दोलनमा हुने गरेका छन् ।


युद्धकालका प्रचण्ड, उनले नेपाली क्रान्तिका लागि भन्दै 'प्रचण्डपथ' ल्याएका थिए । 

प्रचण्डले त युद्धताका आफ्नै नाममा अघि सारेको प्रचण्डपथलाई नै पछिल्लो पटक बिसर्जन गरिदिए । विचार र वादकै नाममा उनको पार्टी झण्डै आधादर्जन पटक विभाजित भयो । अन्ततः उनले एमालेसँग पार्टी एकता गरे । अहिले पनि पूर्व एमाले खेमाका नेताहरुले जबज नै पार्टीको सिद्धान्त हुनुपर्ने भन्दै प्रचण्डलाई झस्काईरहेका छन् । 

यो पनि पढ्नुहोस : नेपाल र चीनबीचको पछिल्लो सम्झौता-कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ?

प्रचण्डले सी जिनपिङ्गभन्दा धेरै अघि नै प्रचण्डपथलाई पार्टीको आधिकारिक लाईन बनाएका हुन् । समयान्तरमा राजनीतिक खिचातानीको संसदीय प्रकृयामा पस्दा उनले भलै यसलाई कार्यान्वयन गर्न सके । तर यतिखेर शक्तिशाली पार्टीको अध्यक्ष हुँदा उनले किन आफैंले अघि सारेको विचारलाई कार्यान्वयन गर्ने प्रस्ताव लैजान चाहँदैनन वा छलफल गरी त्यसका असल पक्षहरुलाई पार्टी लाईनमा समावेश गर्न सक्दैनन ? हुँदाहुँदा किन उनले पहिले आफैंले बुर्जुवा करार गरेको चीनियाँ पूँजीवादी कम्युनिष्ट पार्टीका वर्तमान तानाशाही नेता सि जिनपिङ्गको विचारधारामाथि फुलबुट्टा भरिरहेका छन् ? यो त हदैसम्मको वैचारिक विघटन होईन र ? 


जननेता मदन भण्डारी, जसले 'जनताको बहुदलीय जनवाद-जबज' का रूपमा नयाँ  विचार प्रतिपादन गरेका थिए । 

अर्कातर्फ, लोकप्रिय कम्युनिष्ट नेता मदन भण्डारीले अघि सारेको जबजलाई बार्गेनिङको अस्त्र मात्र बनाउँदै नेकपाकै एक नम्बरका अध्यक्ष एवं प्रधानमन्त्री पनि चीनियाँ विचारधाराप्रति विनम्रता दर्शाइरहेका छन् । देशभित्रकै नेताहरुले विकास गरेका विचार वा वादहरुबारे एकै ठाउँमा बसी छलफल गरेर मुलुकको भविष्यका लागि एक समुन्नत विचार गर्न ओलीलाई कुन कुराले अवरोध गरिरहेको छ भन्ने प्रश्नको जवाफ उनी स्वयंले दिनुुपर्छ ।


‘जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन् खतरनाक बिभेद हो, देश भड्कालोमा जान सक्छ’
‘जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन् खतरनाक बिभेद हो, देश भड्कालोमा जान सक्छ’

दाङ । मानिस/मानिस बिच देखिएको भेदभाव जातीय भावना भन्दा वर्गीय असमानता नै प्रमुख कारण हो । वर्गीय असमानताले जटिलता उब्जाउछ । एक आपसमा गर्ने व्यवहारमा फरक हुन्छ&nbsp..

श्रावण महिनाको महत्व
श्रावण महिनाको महत्व

श्रावण महिना धार्मिक र प्राकृतिक रुपमा महत्वपूर्ण महिना मानिन्छ । किसानहरुलाई खेतीपाति गर्न भ्याई नभ्याई हुन्छ । सबैका घरमा लटरम फलफुल  फलेका हुन्छन् । हरियो  तरकारी..

भारतमा मोदीको जबर्जस्त जीत - नेपालमा उत्तेजना फैलाउने 'पण्डित'हरुलाई सकस !
भारतमा मोदीको जबर्जस्त जीत - नेपालमा उत्तेजना फैलाउने 'पण्डित'हरुलाई सकस !

-सरोज पण्डित काठमाडाैं । नेपालको दक्षिणी छिमेकी भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सत्ता निरन्तरता कायम भएको छ । लोकसभा चुनावबाट भाजपाकै नेतृत्वमा पुनः ५ बर्षको..

भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु
भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु

काठमाडौं । भूमध्य सागरमा प्रवासीहरु चढेको एक डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । यो डुंगा बिही..