आजदेखि बडादशैँ सुरु


नेपालपाना प्रकाशित: २०७६-६-१२ गते
आजदेखि बडादशैँ सुरु

काठमाडौं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ ।

बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको अध्यक्ष गौतम बताउँछन् ।

यद्यपी, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य रोप्ने पनि चलन छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रूपमा लिइ पूजा गर्ने चलन रही आएको छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । 

‘दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवम धर्म विशेषको भनी शास्त्रीय रूपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रूपमा मनाइन्छ’, अध्यक्ष गौतम भन्छन् । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ । 

यो बर्ष असोज २१ गते मङ्गलबार विजयादशमीका दिन बिहान ८ : ४५ बजे देवी विसर्जन गरेपछि १० : ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

धेरैजसो शैक्षिक संस्थाले घटस्थापनाका दिनदेखि दशैँका अवसरमा बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने सार्वजनिक बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।


आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने
आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने

काठमाडौं । बडादशैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम ब..

दशैंको टीकाको शुभ साइत सार्वजनिक
दशैंको टीकाको शुभ साइत सार्वजनिक

काठमाडौं । बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मन..

आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो
आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो

काठमाडौँ । दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गर्न भक्तजनहरुको ठूलो घुइचो लागेको छ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा..

मोदीले संयुक्त राष्ट्रसंघमै भने–"भारतले विश्वलाई बुद्ध दिएको छ"
मोदीले संयुक्त राष्ट्रसंघमै भने–"भारतले विश्वलाई बुद्ध दिएको छ"

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, &lsqu..