चीनले अरुण नदीमा बनाएको तटबन्धका कारण नेपालको किमाथाङ्का बगाउँदै


पटक–पटक चिन्ता जनाएपनि बेवास्ता गर्दै चीन
नेपालपाना प्रकाशित: २०७६-७-२३ गते
चीनले अरुण नदीमा बनाएको तटबन्धका कारण नेपालको किमाथाङ्का बगाउँदै

रातो घेरामा चीनियाँ बजार । कच्ची सडक खोलिएको भिरालो जमिनतर्फ नेपालको किमाथाङ्का नाका पर्छ । चीनले आफ्नो क्षेत्रतर्फ पर्ने नदीकिनारमा पक्की संरचना बनाएको छ ।

काठमाडौं । अरुण नदीमा चीनले बनाएको एक किलोमिटर लामो तटबन्धका कारण संखुवासभाको किमाथाङ्का गाउँ नै बग्ने जोखिम बढेको छ । नेपाली पक्षसँग कुनै समन्वय नै नगरी चीनले आफुखुशी संरचना निर्माण गर्दा अरुण नदीले बहावको दिशा नै परिवर्तन गरेको छ । 

किमाथाङ्का नेपालको उत्तरी क्षेत्रतर्फ रहेका सबैभन्दा टाढाको बस्तीमध्ये एक हो । यो स्थान रणनीतिक हिसाबले पनि नेपालका लागि उत्तिकै महत्वपूर्ण छ । तिब्बतमा मुहान भएको अरुण नदी किनारमाथि किमाथाङ्का बस्ती छ । यही बस्तीको तल रहेको खोँच हुँदै अरुण नदी बग्ने गर्छ ।

तर चीनियाँ पक्षले तटबन्ध लगाएपछि अरुण नदी किमाथाङ्का बस्तीतर्फ पस्न थालेको छ । स्थानीयबासीले बर्षायाममा आउने बाढीले बस्ती नै बगाउने चिन्ता व्यक्त गरिरहेका छन् । 


चीनतर्फ अरुण नदीको दायाँबायाँ रहेका बजार । चीनले आफ्नो क्षेत्रतर्फको नदीकिनारमा तटबन्ध लगाएको छ । तटबन्धका कारण पानीको बहाव नेपाली भूभागको किनारतर्फ एकोहोरिएको छ । 

पछिल्लो महिना अरुण नदी र बस्ती निरीक्षणका लागि किमाथाङ्का पुगेका संखुवासभाका सीडीओ गणेश अधिकारीले अहिले सो स्थानमा निकै गम्भीर खतरा निम्तिएको र अरुण नदीले यसअघिको बहाव नै परिवर्तन गरेको जानकारी दिएका छन् । चीनियाँ पक्षसँग यसबारे चाँडै कुराकानी गर्ने अधिकारीले बताए । 


चीनियाँ पक्षले गरिरहेको तटबन्ध निर्माणका कारण नेपालको करिब दुई सय रोपनी (१,०१,७४८ वर्गमिटर) जमिन अरुण नदीको डुबानमा पर्ने स्थानीय नेताहरुको भनाई छ  । चीनले यो तटबन्ध निर्माण कार्य अन्तिम चरणमा पु-याएको छ । 


किमाथाङ्का मात्रै यो क्षेत्रको समतल भूमी हो, जहाँ नेपालले दुई देशबीचको कनेक्टिभीटीका लागि महत्वपूर्ण संरचनाहरु निर्माण गर्ने योजना अघि सारेको छ । सीमा शुल्क कार्यालय, सिमा चौकी, बैंकिङ्ग सेवा प्रवाहका लागि आवश्यक संरचना लगायत संरचना यसै स्थानमा बनाउन खोजिएको छ । तर चीनले अरुण नदीको बहाव नै परिवर्तन हुने गरी संरचना बनाउँदा यही समतल भूमी पनि पानीभित्र डुब्न लागेको हो । 

मोरङ्गको बिराटनगरदेखि किमाथाङ्कासम्मको करिब ३६२ किलोमिटर लामो सडकले चीन, नेपाल र भारत तिनवटै देशलाई जोड्नेछ । कुल लम्बाईमध्ये २०० किलोमिटर लम्बाईको बिराटनगर–खाँदबारी सडक निर्माण यसअघि नै पुरा भएको छ । खाँदबारी–किमाथाङ्का खण्डको १६२ किलोमिटरमध्ये ९२ किलोमिटर सडकको ट्रयाक खोलिसकिएको छ । 

यो सडक निर्माण पुरा भएपछि चीन, नेपाल र भारतबीचको अन्तरदेशीय व्यापार बृद्धि हुने अपेक्षा छ । तर चीनले अरुण नदीमा बनाएको संरचनाका कारण नेपालले किमाथाङ्कामा आफुले बनाउनुपर्ने अत्यावश्यक संरचना निर्माणमा बाधा पुग्ने देखिन्छ । यहाँ नेपालले भन्सार, सुख्खा बन्दरगाह, बोर्डर आउटपोष्ट, अध्यागमन कार्यालय र बैंक गरी विभिन्न ६ वटा सुविधाका लागि संरचना बनाउनुपर्नेछ । 

नेपालतर्फको भूभाग । किमाथाङ्का बस्तीदेखि तल बगेको अरुण नदी किनारको खाली बगरमा नेपालले आवश्यक संरचना बनाउने योजना अघि सारेको छ । तर अरुण नदीले अहिले नेपालतर्फकै भूभाग कटान गरिरहेको छ । 

हालैमात्र यस क्षेत्रको भ्रमण गरेका सांसद राजेन्द्र गौतमका अनुसार नेपालले आफ्नो जमीन संरक्षण गर्न कम्तिमा एक किलोमिटर लामो तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ । यसका लागि संघीय सरकारलाई पनि आवश्यक काम गर्न निर्देशन दिईएको गौतमले जानकारी दिए । यदी तत्काल नदी नियन्त्रणको काम नभए त्यसले ठूलो क्षति निम्त्याउने र त्यसपछि सो स्थानमा उत्तर–दक्षिण सडक सञ्जालका लागि कुनै पनि काम गर्न नसकिने गौतमले बताए । 

भोटेखोला गाउँपालिका–१ का वडाध्यक्ष तेनचेबी भोटेका अनुसार स्थानीय चीनियाँ पक्षसँग निर्माणबाट देखिएको जोखिमबारे चिन्ता जनाईरहेका छन् । तर चीनले स्थानीयको सरोकारलाई वेवास्ता गरिरहेको छ । नेपाली सांसदहरुसँग त चीनियाँ पक्षले आफ्नो भूभागतर्फ निर्माण गरेको र नदी नियन्त्रणका लागि आफुहरुले केही गर्न नसक्ने बताएका थिए । 


चीनले करिब पाँच बर्षअघि अरुण नदीमा करिब १५० मिटर लामो तटबन्ध निर्माणको काम थालेको थियो । तर सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पका कारण चीनको सिमावर्ती क्षेत्रमा पनि निकै क्षति भएको थियो । भूकम्पले क्षति गरेपछि चीनियाँ पक्षले यो तटबन्ध निर्माणको कामलाई तीब्रता दिएको थियो । साथै, नेपाल–तिब्बत सिमा नजिक रहेको होचो र समथर भूभागमा स्थानीय बजार, सपिङ्ग मल लगायत अन्य सुविधासम्पन्न संरचनाहरु निर्माण गरेको छ ।


द काठमाडौं पोष्टका अनुसार चीनियाँ तटबन्धका कारण समस्या निम्तिएपनि किमाथाङ्काबासीले यो मुद्दालाई जोडतोडका साथ उठाउन सकिरहेका छैनन् । किनकी यसो गर्दा उनीहरुलाई सिमापारीको चीनियाँ बजारमा पहुँच पाउन मुस्किल हुनेछ ।

यस क्षेत्रका बासिन्दा दैनन्दिन आवश्यकता परिपूर्तिका लागि चीनियाँ बजारमै निर्भर छन् । सिमापारी बनेको तटबन्धलाई लिएर चिन्ता जनाउँदा नै चीनियाँ पक्षले सीमामा कडाई गरेको स्थानीयको अनुभव छ । 

नेपाल सरकारलाई चीनियाँ तटबन्ध र यसका जोखिमबारे जानकारी गराउँदा एकपटक केन्द्र र प्रदेशका मन्त्रीहरुले हेलिकोप्टरबाट यस क्षेत्रको निरीक्षण गरेको, तर आफुहरुको चिन्तालाई समाधान गर्नेगरी अहिलेसम्म कुनै काम नभएको स्थानीयको गुनासो छ । 

नेपाली भूभागतर्फ तटबन्ध निर्माण गर्न भोटेखोला गाउँपालिकाले १ करोड ७ लाख रुपैयाँ विनियोजन गरेको छ । स्थानीयबासीका अनुसार अरुण नदीमा तटबन्ध निर्माण गर्न यो रकम निकै अपुग हो । गाउँपालिका अध्यक्षले पनि नदीबाट जमिनको कटान रोक्न यो रकम अपुग हुने बताएका छन् । 

सम्भावित बाढीको त्रासका कारण अहिले किमाथाङ्काका स्थानीयबासीले पक्की घर बनाउनै छाडिदिएका छन् । अर्कातर्फ चीनले अरुण नदीबाट भारी मात्रामा गिटी र बालुवा निकालिरहेको छ, जसले बर्षायाममा बाढीको जोखिमलाई झनै बढाईदिनेछ । 

नेपाल र चीनियाँ सुरक्षाकर्मी तथा स्थानीय प्रशासनका बीचमा निकै पटक अरुण नदीमा निर्माण गरिएको तटबन्ध र यसले निम्त्याउने जोखिमबारे कुराकानी भएको छ, तर चीनियाँ पक्षले नेपालको चासो र चिन्तालाई सम्बोधन गर्न अनिच्छा देखाईरहेको छ ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..