जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते

  |   प्रकाशित :

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

बीबीसीका अनुसार बुधबार राति १० बजेतिर भएको उक्त घटनामा संलग्न सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको त्यहाँको प्रहरीले जनाएको छ।गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो ।

दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाई गस्ती पनि गरिँदैछ । अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रोमा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ ।

अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ । सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ । बन्दुक राख्ने पाउने विषयमा कडा कानुन भएको जर्मनीमा गोलीकाण्डका घटना विरलै हुन्छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech