चिनियाँ हस्तक्षेपलाई नेपाली मिडियाको ठाडो काउन्टर, बेइजिङमा हंगामा!

  |   प्रकाशित :

काठमाडौं । कान्तिपुर पब्लिकेशनको अंग्रेजी प्रकाशन काठमाडौं पोस्टमा प्रकाशित एक आलेखमा प्रयोग गरिएको तस्बिरलाई लिएर उत्तरी छिमेकी चीनले नेपालमा गरेको हस्तक्षेप प्रयास पूर्ण असफल भएको छ । नेपालका सम्पादक तथा स्वयं काठमाडौं पोस्टले चिनियाँ हस्तक्षेप तथा धम्कीको डटेर सामना गर्दै पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा निरन्तर आवाज उठाएपछि सेलिब्रेटी चिनियाँ राजदूत होउ यान्छीले हावा खाएकी छिन् । 

चीन हस्तक्षेपको कडा विरोध गर्दै नेपाली सम्पादक तथा सञ्चारमाध्यमहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा उभिएपछि भारतमा समेत यसको चर्चा भएको छ । भारतको चर्चित अंग्रेजी पत्रिका द इकोनोमिक टाइम्सले यो घटना क्रमलाई प्राथमिकताका साथ छापेको छ । ‘नेपालका अग्रणी सञ्चारमाध्यमले स्वतन्त्र प्रेसलाई कुल्चिने चीन प्रयासको विरोधगरे’ भन्ने हेडलाइनका साथ छापेको छ । 

काठमाडौं पोस्टले छापेको विदेशी लेखकको आलेखले चिनियाँ कम्युनिस्ट शासनकै कारण कोरोना भाइरसको प्रकोप फैलिएको भनेर तथ्यसहित प्रस्ट पारेपछि चिनियाँ राजदूतावासले भने चिनियाँ नोटमा माओको तस्बिर प्रयोगलाई लिएर बखेडा झिकेको थियो । त्यतिमात्रै होइन सम्पादक अनुप काफ्लेलाई जहिल्यै चीनप्रति पूर्वाग्रह राखेको, चीन विरोधी समूहको सुँगा भनेको गम्भीर आरोप लगाउँदै भविष्यमा अन्य एक्सन लिने अधिकार आफूसँग रहेको चेतावनी दिएको थियो । 

चिनियाँ राजदूतावासको यो व्यक्तव्यविरुद्ध मुलधारका मिडियाका सम्पादकदेखि पत्रकार, सञ्चारमाध्यमहरु विरोधमा उत्रिएका थिए । यसलाई स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेपका रुपमा लिँदै चर्काे आलोचना भएको थियो । 

दूतावासको विज्ञप्तिपछि काठमाडौं पोस्टले सम्पादकीय लेखेर कडा विरोध जनाएको थियो । चिनियाँ दूतावासले प्रकाशित लेखमा असन्तुष्टि मात्रै जनाएको छैन, पोस्टका सम्पादकलाई आक्षेप लगाउने धम्की दिने भाषा असैह्य रहेको र राजदूत कुटनीतिक मर्यादामा बस्नुपर्ने चेतावनी दिएको थियो । अव्यवसायिक र स्पष्ट रुपमा आक्षेप लगाउने गरी अमर्यादित रुपमा चिनियाँ दूतावासको प्रतिक्रिया आपत्तिजनक र असैह्य छ,’ सम्पादकीयमा भनिएको छ । 

दूतावासको क्रियाकलापलाई नेपाली जनताको स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हकको प्रत्यक्ष खतराको रुपमा लिन सकिने सम्पादकीयमा उल्लेख गरेको इकोनोमिक टाइम्सले लेखेको छ । चीनले आफ्नो असन्तुष्टि व्यक्त गर्नसक्ने तर प्रजातन्त्रमा यो लेख, यो नलेख भनेर सिकाउन नपाउने र धम्की दिन नपाउने सम्पादकीयको निचोड छ । चिनियाँ दूतावासले भने उक्त लेखले चिनियाँ सरकार र जनताको प्रयासलाई चोट पुर्याएको र चीनको राजनीतिक प्रणालीमाथि नै क्रुर आक्रमण गरेको भनेर उल्लेख गरेको थियो । 

चीनले आर्थिक सहयोगको नाममा नेपाललाई आफ्नो प्रभावमा पार्न खोजिरहेको छ । सहयोगका नाममा आफ्नै देशको जस्तो शासन यता लाद्न खोजेर स्वतन्त्रता कुण्ठित पार्न खोजेको नेपाली विश्लेषकहरु बताउँछन् । नेपालमा प्रभाव राख्न चीनले करोडौंका सडकदेखि जलविद्यतु सम्मका परियोजनामा खर्च गरिरहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech