2020-04-02 19:24:01

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता प्रयास हुँदै, पाण्डेले थाले प्रयास

प्रकाशित

नेत्र विक्रम चन्द 'विप्लव' ।

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारका प्रतिनिधीहरुले फेरि वार्ताको प्रयास थालेका छन्। तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले प्रतिबन्धित नेकपाका नेताहरुसँग अनौपचारिक कुराकानी शुरु गरेका हुन्। 

विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको तथा आपूले औपचारिक या कानूनी रुपमा भन्दापनि पहिल रहेको समितिको संयोजकका नाताले वार्ताको पहल गरिरहेको उनले बताएका छन्। 

यसबीचमा पाण्डेले प्रतिबन्धित पार्टीका पूर्वपोलिटब्युरो सदस्य अनिल शर्मा बिरहीसँग कुराकानी गरेका छन्। विप्लवसँगै वार्ताको प्रस्ताव राखेपनि विरहीले पाण्डेलाई पार्टीमा छलफल भएपछि मात्र यसबारे निर्णय दिने बताएका छन्।

सरकारले गत बर्ष भदौमा प्रतिबन्धित पार्टीसँग वार्ता गर्न पाण्डे नेतृत्वको राजनीतिक वार्ता समिति गठन गरेको थियो। प्रतिबन्धित पार्टीका तर्फबाट पनि सुरेश आले मगर, ताराकान्त चौधरी र लीलाकुमारी भण्डारी सदस्य रहेको समिति गठन गरिएको थियो। तर प्रतिबन्धित पार्टीले कडा व्यवहार देखाउने र सरकारले बल प्रयोग गर्ने नीति लिएपछि अघिल्लो मंसिरमा वार्ता पहल भंग भएको थियो।

वार्ता भंग भएपछि २०७५ फागुनमा सरकारले असन्तुष्ट नेकपामाथि प्रतिबन्ध लगायो। त्यसयता राज्यपक्षबाट प्रतिबन्धित पार्टीका दर्जन हाराहारी नेता कार्यकताको हत्या भइसकेको छ भने थुप्रै नेता÷कार्यकर्तालाई पक्राउ गरि जेल हालिएको छ। 

पाण्डेले प्रतिबन्धित नेकपाका नेताहरुलाई वार्तामा नआई समस्या समाधान नहुने बताएको, तर सो पार्टीबाट एकीन र ठोस कुरा नआएको जानकारी दिए। 

सरकारले पार्टीका नेता/कार्यकर्ता र गतिविधिविरुद्ध कडा कदम चालेपछि विप्लवले वार्ताका नाममा आफूहरुलाई फसाउने काम भइरहेको बताउँदै आएका छन्। वार्ताकै लागि पहलकदमी लिएका पार्टीका नेताहरु मोहन कार्की र पदम राईलगायतलाई जेल हालेर आत्मसमर्पण गर्न लगाई सत्तारुढ नेकपाले पछि जेलबाट निकालेर पार्टी प्रवेश गराएको थियो। 

फेरि पनि वार्ताका लागि इमान्दार भई प्रयास गर्दा सत्तापक्षले त्यस्तै कदम चाल्न सक्ने भन्दै प्रतिबन्धित पार्टीका नेताहरु वार्ता गर्न झस्केका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech