2020-04-05 14:34:58

ग्याँस बिक्रेताले भने, नियमित आपूर्ति भइरहेको छ, नयाँ सिलिण्डर नबेच्नु 

प्रकाशित

काठमाडौं : यतिखेर देशका धनीहरुको घरमा ग्यास भरिएको सिलिण्डर कोचाकोच गरि थुपारिएको छ। तर ग्याँस सकिएपछि बल्ल भर्ने गरीबहरुको चुल्हो निभेको छ।

कोरोना भाइरसका फैलिएमा आयात बन्द हुने र अभाव हुने हल्लाका पछाडि लागेर शहरको शिक्षित र पैसावाल भनिएकाहरुले धमाधम नयाँ सिलिण्डर किनेर घरमा थुपार्दा बजारमा ग्याँस अभाव भएको हो। 

तर ग्याँस बिक्रेता महासंघले भने नियमित रुपमा ग्याँस आयात भएको जानकारी दिँदै बढी मात्रामा ग्याँस नथुपार्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ। संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै व्यवसायीहरुले अहिले विगतमा भन्दा पनि बढी ग्याँस आयात भएको र उपभोक्तालाई धैर्य रहन आग्रह समेत गरेका छन्।

ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गर्दै व्यवसायीलाई नयाँ  सिलिन्डर नबेच्नसमेत निर्देशन दिएका छन्।

ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा एक करोड २३ लाख सिलिन्डर रहेको जनाउँदै कोभिड–१९ का कारण हाल दैनिक एक लाख सिलिन्डर खपत भएको बताए।  उनका अनुसार तराईमा भन्दा काठमाडौंँमा धेरै माग भएको छ । सन् २०१८ मा ३३ हजार मेट्रिक टन ग्यास खपत भएकामा सन् २०१९ मा ३८ हजार र सन् २०२० को हालसम्म ४३ हजार मेट्रिक टन खपत भइसकेको छ ।

फागुका कारण एलपी ग्यास आयात एक साता बन्द भएको थियो । फागुसँगै कोभिड –१९ को अनावश्यक हल्लाका कारण केही ढिलाए भए पनि नियमित रूपमा ग्यास आयात भएको हुँदा मौज्दात नराख्न श्रेष्ठले आग्रह गरेका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech