दक्षिण एसियामा पाकिस्तान: शान्तिको बाधक, सार्कलाई बेवास्ता

  |   प्रकाशित :

भारत पाकिस्तान विवादले निष्क्रिय बनेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तत: भारतकै सक्रियताले एकाएक जुरमुराएको छ । यो अवसर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसले जुटाइदिएको छ । नेपालमा संविधान जारी गर्न दलहरुबीच विनाशकारी भूकम्पले एकजुट गराएजस्तै कोरोनाले सार्कका नेतालाई सक्रिय हुने वातावरण बनायो । यसको परिणाम स्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा आइतबार सार्कका ८ वटै सदस्य राष्ट्रका नेताबीच भिडियो कन्फ्रेन्स बैठक भयो । कोरोना भाइरसविरुद्ध दक्षिण एसियाली राष्ट्रबीच साझा रणनीति बनाउने एजेण्डासहित आयोजित बैठकमा भारतका प्रधानमन्त्री मोदीसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर पनि सहभागी भए । त्यसैगरी भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, बंगलादेशकी प्रधामन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सकाका राष्ट्रपति इब्राहिम मोहमद सोलिह र पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाले प्रतिनिधित्व गरे । 

यो बैठकमा पाकिस्तानको प्रतिनिधित्वलाई लिएर सबैको चासो थियो । सबै राष्ट्रप्रमुख सहभागी बैठकमा पाकिस्तानले राज्यमन्त्री सहभागी गराउनुले सार्कलाई हेर्ने पाकिस्तानी सरकारको दृष्टिकोण देखायो । आराम गर्नुपर्ने बेला चिकित्सकको सुझावलाई अटेर गरी नेपालका प्रधानमन्त्री ओली उपस्थित भएर आफ्ना कुरा राखिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सार्कलाई वेवास्ता गर्दै राज्यमन्त्रीमार्फत प्रतिनिधित्व गराए । आफैंले १९ औं सार्क शिखर सम्मेलन गर्नुपर्ने जिम्मेवारी थाँती रहेका बेला त्यसलाई सम्पन्न गर्न भिडियो कन्फ्रेन्समा इमरान खान आफैं सहभागी गएर वातावरण बनाउनुपर्ने थियो । धन्न राज्यमन्त्री पठाएर बाध्यात्मक जस्तो देखिने सार्क राष्ट्रको कोरोनाविरुद्ध लड्ने प्रस्तावमा ऐक्यबद्धता जनाए । अर्कोतर्फ सबै राष्ट्रले कोरोनालाई परास्त गर्दै क्षेत्रीय हितको कुरा गरिरहेका बेला पाकिस्तानले भने जम्मू काश्मिरको उठाएर बैठकमा सबैलाई आश्चर्यमा पार्यो । यसबाट पाकिस्तानका लागि सार्क भन्दा काश्मिर महत्वपूर्ण छ भन्ने देखायो । साथै सार्क आवश्यक नपर्नेजस्तो व्यवहार प्रदर्शित गर्यो । 

दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको लक्ष्यसहित सन् १९८५ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापना भएको थियो । ३५ औँ वर्षमा आइपुग्दा सार्क अहिलेसम्मकै निष्किय अवस्थामा पुगेको छ । भारत र पाकिस्तानबीचको अन्तरद्वन्द्व यसमा मुख्य कारक रह्यो । क्षेत्रीय शान्तिमा यहीँ अन्तरद्वन्द्वले बाधा पुर्याायो । भारत र पाकिस्तानको बदला भावको छायाँमा सार्क पर्दै आएको छ । भारतले काश्मिरमा एक्सन लिने र त्यसविरुद्ध पाकिस्तानले आतंकवादी संगठन परिचानल गरेर अस्थिरता मच्चाउने काम हुँदै आएका छन् । जसका कारण दुइ देशबीच विवाद हुँदा सार्क प्रभावित भइरह्यो । मुलतस् पाकिस्तानको सरकार र सेनाले आतंकवादलाई संरक्षण र प्रश्रय दिँदा न सार्क अघि बढ्न सकेको छ । न त शान्ति कायम हुन सकेको छ । यसले पुरै दक्षिण एसियालाई अशान्त बनाएको छ भने क्षेत्रीय एकता पनि ध्वस्त पारेको छ । 

काश्मिरमा आँखा गाडेको पाकिस्तानले यसैकारण आतंकवाद छोड्न सकेको छैन । जसले गर्दा दक्षिण एसियाको शान्ति एकता र स्थिरता हराएको छ । पुलवामा, उरी, पठानकोट हमला यसका उदाहरण हुन् । यिनै हमलाका कारण पाकिस्तानमा तय भएको १९ औ सार्क शिखर सम्मेलन समेत स्थगित भयो, अहिलेसम्म हुन सकेको छैन । धेरैले सार्क सम्मेलन हुन नदिन र सार्कलाई निष्क्रिय बनाउन पाकिस्तानले जानीजानी आतंकवादी परिचालन गरेर हमला गराएको बताउँदै आएका छन् । छिमेकीलाई प्राथमिकतामा राखेका भारतका प्रधानमन्त्री मोदीले आफ्नो पहिलो कार्यकालमा पाकिस्तानको सरप्राइज भ्रमण गरेर सम्बन्ध सुधारको प्रयत्न गरे । क्षेत्रीय शान्ति एकताको माहोल बनाउन पाकिस्तान उत्रिएका मोदीलाई उनी फर्केपछि पाकिस्तान सरकार र सेनाले आतंकवादी लडाकु परिचालन गरेर पठानकोट एयरबसमा हमला गरेर जवाफ दिए । जतिबेला सार्क सम्मेलन पाकिस्तानमा गर्ने तयारी हुँदै थियो, पाकिस्तानसँग सम्बन्ध सुमधुर बनाउने प्रयास हुँदै थियो त्यही बेला आक्रमण गरेर पाकिस्तानले भारत र सार्क दुबै नचाहेको संकेत दियो । यो घटनापछि भारत पाक सम्बन्ध चिसियो । यसको असर सोझै सार्क सम्मेलनमा पर्योक । हाम्रा अग्रजले शान्त र एकत्रित दक्षिण बनाउन खोलेको सार्कलाई पाकिस्तानले भारतसँगको इगोका कारण छायामा पार्योज । शिखर सम्मेलनलाई आयोजना गर्न कुनै पहल गरेन । यसबाट पनि पाकिस्तानको प्राथमिकतामा सार्क नभएको बुझ्न सकिन्छ । चाहे त्यो भारतसँगको इगो होस वा अन्य कुनै कारण । अध्यक्ष राष्ट्र नेपालले बारम्बार शिखर सम्मेलन गर्न दबाब दिए पनि पाकिस्तानले कुनै वास्ता नगर्नु आफैंमा दुस्खद पक्ष हो ।

त्यसो त आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एशियाका आठ देशको साझा सङ्गठनले यहाँका करिब दुई अर्ब जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गर्दै आएको छ । तर, पछिल्लो समय पाकिस्तानका कारण यो प्रयासमा ब्रेक लागेको छ । 

दक्षिण एशियाको समृद्धि र यस भेगका गरिब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले भारत र पाकिस्तानको द्विपक्षीय विषयका कारण गति भने लिन सकेको देखिँदैन । आर्थिक एवं सामाजिक क्षेत्रमा केन्द्रित सार्कले लक्षित उद्देश्य हासिल गर्ने इमान्दार प्रयत्न भने नगरेको होइन । सार्क बीउबिजन र खाद्यान्न भण्डार, सार्क प्रवेशाज्ञा, दक्षिण एशियाली विश्वविद्यालयलगायत पारस्परिक सहयोग अभिवृद्धिका लागि संयन्त्र निर्माणलाई सकारात्मक मान्नुपर्छ । 

मानव संसाधन विकास तथा पर्यटन, कृषि तथा ग्रामीण विकास, वातावरण, प्राकृतिक विपत्ति र जैविक प्रविधि, अर्थ, व्यापार, वित्त, सूचना तथा सञ्चार प्रविधि एवं गरिबी निवारण, ऊर्जा, यातायात, विज्ञान तथा प्रविधिका साथै शिक्षा, सुरक्षा र संस्कृति सहयोगका क्षेत्रमा सार्कले काम गरिरहेको छ । क्षेत्रीय सहयोग प्रवर्द्धन र सदृढीकरणका लागि सार्कमा विषयगत क्षेत्रीय केन्द्रहरु कृषि केन्द्र (ढाका), ऊर्जा केन्द्र (इस्लामावाद), सांस्कृतिक केन्द्र (कोलम्बो), क्षयरोग तथा एचआइभीरएड्स केन्द्र (काठमाण्डौ), विपद् व्यवस्थापन केन्द्र (नयाँ दिल्ली) स्थापना गरिएका छन् ।

भिडियो कन्फ्रेन्समा कसले के भने ?

भारत र पाकिस्तानको तिक्तताले अल्मलिएको सार्क भिडियो कन्फ्रेन्समार्फत एकताको सम्भावना देखिएको छ । कोरोनाले जुराइदिएको एकताले सकारात्मक सन्देश सम्भावना बढेको छ । भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले सार्क सदस्य राष्ट्रबीचको आपसी साझेदारी विश्वमै नमूना बनाउनुपर्ने भन्दै फराकिलो प्रस्ताव गरेका थिए । विश्वव्यापी समस्याको रूपमा देखिएको कोरोना भाइरसको व्यवस्थापनका लागि आपतकालीन कोष खडा गर्ने बताउँदै यसका लागि भारतले एक करोड अमेरिकी डलरको योगदान गर्ने घोषणा पनि गरे । कोरोनाविरूद्धको लडाईमा सार्क सदस्यहरु एकजुट हुनुपर्ने उनको भनाई थियो । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको प्रस्तावलाई समर्थन गर्दै कोरोनासँगै अन्य विषयमा पनि सार्कलाई सक्रिय बनाउनुपर्ने र क्षेत्रीय एकता आवश्यक रहेको बताए । 

कन्फरेन्समा पाकिस्तानबाट सहभागी स्वास्थ्य राज्यमन्त्री मिर्जाले कोरोना भाइरसको विश्वव्यापी ‘प्रकोप’ले दक्षिण एशियालाई पनि नराम्रोसँग प्रभावित पारेकोले यसमा सबैको साझा चासो रहनुपर्ने बताएको छ । उनले काश्मिर मुद्दालाई पनि सार्क राष्ट्रका नेताहरूसमक्ष उठाएका थिए। सार्कका सबै मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम जारी रहे पनि प्रकोपका रूपमा नआएको धारणा राख्दै उनले भाइरसको सङ्क्रमणबाट पर्ने सम्भावित खतरालाई सामना गर्न सहकार्यका लागि पाकिस्तान प्रतिवद्ध रहने बताए ।

बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले कोरोना भाइरस (कोविड– १९) विरुद्ध लड्न सार्क मुलुकहरुले बलियो समन्वय र सहकार्यका लागि जोड दिएकी थिइन् । प्रधानमन्त्री शेखले आफ्नो मुलुक सबै सार्क मुलुकसँग सधै सहकार्य गर्न तयार रहेको बताइन् । उनले बङ्गलादेशमा तीन व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको तर यसका कारण स्वदेशमा कसैको मृत्यु नभएको बताउँदै भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि रणनीति निर्माण गरी त्यसको कार्यान्वयमा जोड दिनुपर्ने बताइन्। उनले भनिन्, “हाम्रो देशमा बाहिरबाट आएका तीन जनामा रोग देखिएको छ । कुनै पनि स्थानीय जनतामा यो रोग पुष्टि भएको छैन ।”

त्यसैगरी श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले कोरोना भाइरस सङ्क्रमणको ठूलो समस्या आफ्नो मुलुकमा नदेखिए पनि देशको आयात तथा निर्यातमा प्रभाव परिसकेको बताए। “कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी समस्याका कारण श्रीलङ्काको खासगरी पर्यटन क्षेत्रमा व्यापक प्रभाव परेको र यसको प्रभाव अर्थतन्त्रमा पनि देखिएको छ,” उनले भने । श्रीलङ्कामा आउने पर्यटक प्राय इटली र ईयू मुलुकहरूबाट बढी रहेको तर गत वर्ष अप्रिल २१ मा भएको आतङ्कवादी हमलाका कारण प्रभावित बनेको पर्यटन बजार कोरोनाका कारण थप सङ्कटमा परेको उनले बताए । सार्क मुलुकका नेताहरूले सार्कको अर्थतन्त्रलाई कठिन घडीमा बचाउन विशेष संरचनाको निर्माण गरेर अघि बढ्नुपर्ने गोतावायले बताए ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सार्क मुलुकमा कोरोना भाइरसविरूद्धको लडाईलाई सफल पार्न टेलिमेडिसिन र अन्य साझा संरचना बनाउन जोड दिए । उनले भने, “सार्कमा अहिले कोरोना भाइरसको सङ्क्रमण विस्तारै फैलिन थालेकोले यसलाई रोकथाप तथा नियन्त्रणका लागि हामीले साझा अवधारणा निर्माण गरौँ र टेलिमेडिसिनजस्ता प्रविधिको सहयोगमा रोकथाम तथा नियन्त्रण प्रयासमा सफलता मिल्नेछ ।” 

त्यस्तै माल्दिभ्सकाका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले एकल प्रयासमा कोरोना भाइरस सङ्क्रमण बिस्तारलाई नियन्त्रण गर्न कठिनाई भएको र यसका लागि सार्क मुलुकहरूले एक भएर काम गर्नुपर्ने बताए । उनले सार्कका सदस्यहरू विगतमा पनि असहज परिस्थितिमा एक बनेका उदाहरण छन् । खुला सीमाका कारण सङ्क्रमण फैलिने सम्भावना प्रवल रहेकोले सीमालाई व्यवस्थापन गर्नुपर्ने उनले बताए । “सार्क तथा गैर–सार्क मुलुकबाट हुने आवागमनमा सतर्कता अपनाउन र भाइरस सङ्क्रमण फैलिनबाट रोकथाम गर्न चालिने बुद्धिमान कदमले सार्कमा कोरोनालाई फैलिनबाट रोक्न सकिने देखिन्छ,” सोलिहले भने । 

सम्मेलनमा भूटानका प्रधानमन्त्री लोटे छिरिङले सङ्क्रमणलाई नियन्त्रणका लागि चालिने पहलमा भूटानले अन्य सार्क मुलुकसँग सहकार्य गर्ने बताए । सबै राष्ट्रको प्रतिबद्धताले सार्क फेरि सक्रिय एवं दक्षिण एसियाको अब्बल संगठन बन्ने निश्चित छ । तर, त्यसका लागि पाकिस्तानको सहयोग आवश्यक छ । पाकिस्तानले आतंकवाद, अहंकार र बदलाको भावना छोडेर क्षेत्रीय शान्ति एकता र समृद्धिलाई हेर्नु आजको आवश्यकता हो । यसमा भारतले पनि समन्वय गर्नुपर्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech