2020-04-02 17:48:51

कोरोना संक्रमण हुनबाट आफु जोगिई अरुलाई पनि जोगाईदिन तरुण दलको अपिल

प्रकाशित

काठमाडौं । विगत केही समय देखि विश्व समुदाय नोभल कोरोना भाईरस संग लडिरहेको बेला नेपाल तरुण दलले विज्ञप्ती जारी गर्दै यस भिषम परिस्थितिमा सम्पूर्ण सम्बन्धित निकाय आम नागरिक र सरकारले आ–आफनो क्षेत्रबाट जिम्मेवारपूर्ण ढंगले प्रस्तुत भई संक्रमण हुनबाट आफु जोगिई अरुलाई पनि जोगाईदिन  अपिल गरेको छ ।  

नेपाल तरुण दलले जारी गरेको विज्ञप्तीमा ‘(१)आदरणीय आमाबुवा, दाजुभाई, दिदीबहिनीहरु अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ । 

(२) विभिन्न कामका लागि नेपाल बाहिर गएका सम्पूर्ण नागरिकलाई जो जहाँ हुनुहुन्छ केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनुहुन अनुरोध गरिन्छ । 

(३) समाजिक संजाल, अनलाइन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गरिन्छ । 

(४) समाजिक संजाल लगाएत अन्य माध्यममा अनावश्यक अपवाह फैलाईएको देखिएकोले अपवाह फैलाई त्रसित बनाउने जो कोहीलाई कडा भन्दा कडा कारवाही गरियोस । त्यसका लागि नेपाल तरुण दल नेपाल सरकार र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सदैब तत्पर रहने जानकारी गराउदछौ । 

(५) हाल ठुला तारे होटलहरु बन्द अवस्थामा रहेका हुनाले होटल संचालक निकाय संग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेसनका लागि तयारी अवस्थामा राखियोस । 

(६) धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटलहरु, तालिम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगको लागि सम्बन्धित निकाय संग सर सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाईयोस । 

(७) मास्क, औषधी, सेनिटाइजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन थालेकोले यसरी कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडा भन्दा कडा कारवाही गरियोस । साथै जनताका न्युनतम सेवा सुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गरियोस ।

(८) स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनका लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधामा प्रबन्ध गरियोस । 

(९) केही समयका लागि अति आवश्यक बाहेक अन्य कार्यहरु बन्द गर्नुपर्ने अवस्था आएकाले दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने वर्ग मारमा पर्ने देखिन्छ । यसकारण यो वर्गको दैनिक जीवन निर्वाहको लागि सरकारका तर्फबाट आवश्यक प्रबन्ध गरियोस । 

(१०) निजि क्षेत्रबाट हवाईसेवा प्रदान गर्ने केही कम्पनीहरुले तोकिएको भन्दा अत्याधिक भाडा असुलेको देखिनमा आएकोले सो कार्य तत्काल रोक्न नेपाल तरुण दल ध्यानाकर्षण गराउदछ । 

(११) सकेसम्म लामो दुरीको यात्रा नगरौ यदि गर्नैपर्ने अवस्था आएमा यसका लागि सरकारका तर्फबाट सुरक्षित र सुलभ यातायातको प्रबन्ध गरियोस । 

(१२) अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफु वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल हार्दिक अनुरोध गर्दछ ।’ उल्लेख छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech