2020-04-02 18:50:38

कोरोना नियन्त्रण तथा उपचार कोष कोषमा राष्ट्रपतिदेखि सर्वसाधारणको सहयोग

प्रकाशित

 काठमाडौं । नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा राष्ट्रपतिदेखि सर्वसाधारणले सहयोग रकम प्रदान गर्ने घोषणा गरिएको छ । 

कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि सरकारले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’को स्थापना गरेको छ ।  

सरकारले उक्त कोषमा ५० करोड रुपैयाँ राखी सोमबार राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेपछि मनकारीहरूले रकम जम्मा गर्ने घोषणा सार्वजनिक गरेका हुन् । सो कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाबराबरको पारिश्रमिक प्रदान गर्ने घोषणा सार्वजनिक गरिसकेकी छन् ।

यसैबीच निजी क्षेत्रबाट कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । चौधरीले सोमबार एक ट्वीट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने उल्लेख गरेका छन् ।

सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने चौधरीले बताएका छन् । यसैबीच, सर्वसाधारणले पनि कोषमा रकम जम्मा गर्ने मनशाय राखेका छन् । बर्दियाका रमेश थापाले कोरोनासँग जुध्‍न सरकारी राहत कोषमा १७ हजार ५ सय रुपैयाँ दिने घोषणा गरेका हुन् । 

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न प्रस्ताव गरेका छन् । पूर्वअर्थसचिव रामेश्वर खनालले एक महिनाको पेन्सनबराबरको रकम दिने घोषणा गरेका छन् ।

खनालले चैत महिनाको मासिक निवृत्तिभरण ४१ हजार ७३१ रुपैयाँ दिने घोषणा गरेका हुन् । सामाजिक संजाल ट्वीटरमार्फत सो घोषणा गरेको खनालले सो रकमको प्रयोग रोजगारी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले पनि ‘कोरोना भाइरसको संक्रमणविरुद्ध विशेष कोष’मा एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालयमा रहेका सबैले एक महिनाको तलब दिनेछन् । मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले कोषमा एक महिनाको तलब दिनेछन् ।

यसैगरी, सचिवालयमा रहेका विकास पूर्वाधारविज्ञ गजेन्द्र थपलिया, सञ्चारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब दिनेछन् । राष्ट्रसेवक कर्मचारीले पनि तीनदेखि सात दिनसम्मको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन् । सहसचिवभन्दा माथिका कर्मचारीले सात दिनको, उपसचिव र अधिकृतले पाँच दिनको तलब कोषमा जम्मा गर्ने भएका छन् भने सोभन्दा मुनिका कर्मचारीले तीन दिनबराबरको पारिश्रमिक कोषमा जम्मा गर्नेछन् ।

कोषमा नेपाल बैंकले राहतस्वरूप १ करोड रुपैयाँ जम्मा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संकटका घडीमा राहतका लागि सो रकम उपलब्ध गराएको बताए । राष्ट्रिय वाणिज्य बैंकले पनि डेढ करोड रुपैयाँ कोषमा जम्मा गर्ने भएको छ । गैरआवासीय नेपाली संघले कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

रोकथाम, उपचार तथा अन्य उपकरण र औषधिजन्य सामग्री सहज गर्न गठित केन्द्रीय कोषमा १ करोड रुपैयाँ जम्मा गरिने संघका प्रवक्ता डीबी क्षेत्रीले जानकारी दिए । यसैबीच, सर्वसाधारणले पनि कोषमा रकम जम्मा गर्ने मनशाय राखेका छन् । बर्दियाका रमेश थापाले (कोभिड १९) सँग जुध्‍न सरकारी राहत कोषमा १७ हजार ५ सय रुपैयाँ दिने घोषणा गरेका हुन् । सरकारले खडा गर्ने कोषमा मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने निर्णय भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech