ओली सरकारले भारतसँग वार्ता गर्न सकेन, नेकपा नेताहरु चीन गुहार्दै

  |   प्रकाशित :

काठमाडौं । चौतर्फी दबाबमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई देशको नक्सामा समावेश गरेको केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार भारतसँग वार्ता गर्न भने असफल भएको छ।

वार्ताको वातावरण बनाई सीमा विवाद टुंग्याउन र नेपाली भूमिमा भारतीय उपस्थिति हटाउन पहल गर्नुपर्नेमा ओली सरकार भारतको उछितो काडेर राष्ट्रवादी बनिरहेको छ भने यहीँ बेला नेकपा नेताहरु चीनको शरणमा पुगेका छन्। गुमेको भूमि फिर्ता ल्याउन राष्ट्रवादी सरकारबाट पहल नभएपछि नेकपाका नेताले चीनलाई गुहारेका हुन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रवार चिनियाँ नेतासँग भिडियो कन्फ्रेन्स गर्दै लिपुलेकबारे कुरा उठाए। लिपुलेकसँगै लिम्पियाधुरा पनि जोडिन्छ। जुन काम सरकारले गर्न सकेको छैन। सरकार भारतसँग कुरा गर्न नसक्ने र नेताहरु चीनसँग विवाद मिलाइदिन गुहार मागिरहेका छन्। प्रवक्ता श्रेष्ठले नेपाल चीन सम्बन्धलाई थप अगाडि बढाउन लिपुलेकमा चीन स्पष्ट हुनुपर्ने बताए।

भारत र चीनबीच २०१५ मा लिपुलेकलाई लिएर भएको सम्झौताले नेपालको सार्वभौमिकतामा हस्तक्षेप भएको भन्दै उनले यस विषयमा चीन स्पष्ट हुन जरुरी रहेको बताए। प्रवक्ता श्रेष्ठले लिपुलेक भारत र चीनको सम्झौताको मात्र विषय हुनै नसक्ने बताउँदै नेपालको संलग्नता आवश्यक रहेको बताए। त्यस्तै उनले चीनले नेपालको पूर्वाधार विकाससँगै आर्थिक विकासमा पनि ध्यान दिनुपर्ने बताए।

नेपालको आर्थिक विकासले चीनलाई पनि फाइदा पुग्ने उनको भनाइ थियो। त्यस्तै चीनले नेपालको भुराजनीतिक संवेदनशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने बताए। नेपाल सँगै एक चीन नीतिमा प्रतिवद्ध रहेको र विश्वासयोग्य मित्रको रुपमा नेपाल उभिनुपर्ने उनको भनाई थियो।

श्रेष्ठसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नेपाल भारत डिभिजनका निर्देशक छाङ् ज्युछिङलगायत भिडियो कन्फ्रेन्समा सहभागी थिए। उनले लिपुलेकबारे केही जवाफ भने दिएनन्। कोभिड-१९ महामारीको चर्चा र सहयोगबारे मात्रै बोले। बीआरआई र रेलका कुरा गर्दै एक चीन नीतिप्रति सधै प्रतिवद्ध रहेकोमा नेपाललाई धन्यवाद दिएका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech