बेलायती औषधि निर्माता कम्पनीको खोप अमेरिकामा तेस्रो चरणको परीक्षणमा, ३० हजार व्यक्तिमा लगाइने

  |   प्रकाशित :

काठमाडौं। कोरोनाविरुद्ध निर्माण गरिरहेको खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको छ। बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेको खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको हो । 

उक्त खोपको परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेको छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ । अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकास गरिएको यो खोपलाई अमेरिकी संघीय सरकारले समर्थन जनाउनुका साथै ३० हजार नागरिकमा परीक्षण अनुमति दिइसकेको छ । 

यसअघि अमेरिकामै मोडर्ना र फाइजररबायोएनटेक खोप तेस्रो चरणको परीक्षणमा गइसकेको सिएनएनले जनाएको छ । समाचार संस्था सिएनएनका अनुसार एस्ट्राजेनिकाले अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिका विभिन्न जातीय र भौगोलिक समूहहरूबाट करिब ३० हजार व्यक्तिमा तेस्रो चरणको खोप परीक्षण गर्न लागेको छ ।  

यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा कोरोना संक्रमणको जोखिमको खतरा भएका व्यक्तिलाई ४ हप्ताको अन्तरालमा दुइ डोज दिइने जनाइएको छ । हाल एस्ट्राजेनेकाको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा पनि भइरहेको छ । साथै जापान र रुसमा पनि यसको परीक्षण थाल्ने बताइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech