फूडबैंक खोल्नेहरुलाई पुलिस पठाएर ठोक्न लगाउने ओली सरकारलाई वशिष्ठ अधिकारीको प्रश्न: के गरिवको पेटलाई पनि निषेधित क्षेत्र तोक्न मिल्छ र सरकार ?

  |   प्रकाशित :

काठमाडौं । गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले रचित रचना मार्फत सरकारलाई प्रश्न गरेका छन् । 

नेपाल तरुण दलले दैनिक ज्यालादारी गरेर आफ्नो गुजारा चलाउनु पर्ने मजदुरहरूलाई भोकै बस्नु नपरोस् भनेर ललितपुरको गोदावरी नगरपालिका -११ बज्रबाराहीमा फुड बैंक सञ्चालन गरेको छ । तर सातौं दिनमा यो अभियानलाई स्थानीय प्रशासनले रोक्ने, अवरोध सृजना गर्ने प्रयास गर्यो।

यसै सन्दर्भमा गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीद्धारा रचित रचना मार्फत सरकारलाई प्रश्न गरेका हुन् ।

पढौं रचनाः 

हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ रोक्न मिल्छ र सरकार ?

फूडबैंक खोल्नेहरुलाई पुलिस पठाएर ठोक्न मिल्छ र सरकार ?

 

गाउँ सहरलाई लकडाउन गर्यौ ! सटडाउन र निषेधाज्ञा लगायौ !

के गरिवको पेटलाई पनि निषेधित क्षेत्र तोक्न मिल्छ र सरकार ?

 

निषेधाज्ञा र बन्दले न कतै काम छ न त खल्तीमा दाम छ !

काम र दाम नभएपछि के ढुङ्गामाटो टोक्न मिल्छ र सरकार?

 

क्वारेन्टाइन, पिपिइ र पिसिआर टेस्टमा पनि भ्रष्टाचार गर्नेले,

मिडिया र भाषणमा अनेक हावादारी गफ खोक्न मिल्छ र सरकार ?

 

महामारीले देश डुबिसक्यो ! आत्महत्या गर्नेको दर बढ्दो छ !

अब पनि 'सुखी नेपाली, समृद्ध नेपाल'को नारा घोक्न मिल्छ र सरकार ?

 

अरुले केही बोल्नै नहुने ? आफुले जे गरेपनि जायज हुने ? अचम्म !!!

'युज एण्ड थ्रो'को त्यो मास्कले राष्ट्रिय झन्डा बोक्न मिल्छ र सरकार ?

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech