वामदेव रोक्न ओलीले युवराजलाई अघि सारे, जनताले चाहेका कुलमानलाई पनि लत्याए

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन्।

भदौ २० गते मन्त्री पदबाट राजीनामा खतिवडालाई प्रधानमन्त्री ओलीले ९ दिनपछि सोमवारको क्याविनेटबाट नियुक्त गरेका हुन्। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार खतिवडालाई मन्त्री सरह सेवा सुविधा दिनेगरि सल्लाहकार नियुक्त गरिएको हो।

त्यसैगरी प्रधानमन्त्री ओलीले १२ दिनअघि पार्टीले निर्णय गरेर पठाएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न ढिलाई गरेका छन्। त्यतिबेला पनि वामदेवलाई रोकेर युवराजलाई अघि बढाउन ओलीले हरसम्भव प्रयास र प्रलोभन नदिएका होइनन्। तर वामदेवको अडानले पार्टीले सिफारिस गर्ने निर्णय गर्यो । सिफारिस क्याविनेटले राष्ट्रपतिलाई गर्नुपर्छ।

तर आज सार्वजनिक क्याविनेटका निर्णयमा वामदेवलाई सिफारिस गरिएको उल्लेख छैन। स्रोतलाई उद्धृत गर्दै हिजो क्याविनेट सकिएपछि वामदेवलाई सिफारिस गरेको समाचारहरु आएका थिए। तर आज सार्वजनिक मन्त्रिपरिषदका बैठकमा वामदेव सिफारिस उल्लेख छैन। त्यसो त वामदेवले राष्ट्रियसभामा मनोनित सँगै अर्थ मन्त्रालय मागेका थिए।

त्यसलाई टार्न र वामदेवलाई रोक्न ओलीले सोमवार नै युवराजलाई विशेष आर्थिक सल्लाहकार बनाएर मन्त्रीकै हैसियत दिए। अब अर्थ मन्त्रालय आफूसँगै राखेर वा आफूले भनेको मान्ने यस म्यान राखेर युवराज खतिवडाबाट चलाउने ओलीको दाउ छ। युवराजसम्बन्धि निर्णय वामदेवलाई रोक्नै लागि भएको ओली निकट नेताहरु बताउँछन्।

यद्यपि वामदेवलाई ओलीले केही समयपछि सिफारिस गरेर सांसद बनाउने उनीहरुको भनाई छ। ओलीले वामदेवलाई मात्र चक्मा दिएनन् जनताले चाहेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि लत्याए। ओलीले पुनर्नियुक्त गर्न नमानेकै कुलमान प्राधिकरणमा ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech