परीक्षणविना नै निको भएको ठान्दै घर फर्किंदै कोरोना संक्रमित

  |   प्रकाशित :

काठमाडौं। मुलुकका विभिन्न क्षेत्रमा रहेका कोरोना संक्रमितलाई उपचारका लागि निगरानीमा राखिने आइसोलेसन केन्द्रले राम्रो सेवा दिएकै कारण एक सातादेखि १५ दिनभित्रै बिरामी निको भएर घर फर्किनेको संख्या उच्च छ । तर, पछिल्लो समय १०–१२ दिनसम्म लक्षण नदेखिएपछि बिरामीलाई पीसीआर परीक्षणविना नै निको भएको ठानेर घर पठाउने गरिएको छ ।

‘पहिला–पहिला त पीसीआर परीक्षण गरेर नेगेटिभ परिणाम आएपछि डिस्चार्ज गर्ने गरिएको थियो, तर पछिल्लो समयमा कुनै लक्षण नदेखिएपछि कोरोनामुक्त ठानेर घर पठाउने गरिएको छ’, कीर्तिपुरस्थित नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले भने– ‘जेठ महिनायता २ सय १२ जना उपचारपछि केन्द्रबाट डिस्चार्ज भइसकेका छन् भने अहिले करिब २ सयले आइसोलेसनमा उपचार गराइरहेका छन् ।’

‘स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार नै पीसीआर परीक्षणविना नै १४ दिनपछि कुनै लक्षण नदेखिएपछि घर फर्काइएको हो’, डा यादवले भने– ‘हामीकहाँ, संक्रमण भएर पनि लक्षण नदेखिएका अर्थात् एसिम्टम्याटिक, छिटफुट लक्षण देखिएका अर्थात् माइल्ड र मोडिरेट बिरामी मात्र राखिन्छ, त्यसैले पनि निश्चित समयको निगरानीपछि परीक्षणविना नै डिस्चार्ज गर्नु स्वाभाविक हुन्छ ।’

कीर्तिपुरको यस आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रस्थित आइसोलेसन केन्द्रले भर्ना भएका सबै पूर्णतः स्वस्थ भएर घर फर्केका कारण प्रशंसा पाएको छ । डा यादव भने ‘कोरोना भाइरसको औषधी त छैन, तर रोग प्रतिरोधात्मक क्षमता विकास गरेर विषाणुलाई प्रभावहीन बनाउने क्षमता आयुर्वेदिक औषधीमा छ, त्यो हामी संक्रमितलाई सेवन गराउँछौं ।’

उनका अनुसार गुर्जो, त्रिकटु र अभ्रकभष्म मिलाएर केन्द्रले ट्याब्लेट बनाएको छ, त्यो बिरामीको अवस्थाअनुसार दिनको एक वा दुई गोली खान दिने गरिएको छ । यसका अतिरिक्त सन्तुलित आहार, व्यायाम र आत्मबलको विकास गरिएका कारण पनि कुनै पनि बिरामीको दुःखद अवस्था नभएको उनको निष्कर्ष छ ।

६ सयभन्दा बढी संक्रमितको उपचार गरिसकेको केन्द्रले अवस्था अलि जटिल देखिएका १५ बिरामीलाई सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल बलम्बुलगायतमा रिफर गरी पठाइएको र त्यहाँ राम्रो भएर उनीहरु घर फर्किसकेको रेकर्ड पनि उनले देखाए ।

कोभिडका बिरामीलाई स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितलाई कीर्तिपुर, बलम्बु, भक्तपुरको खरिपाटी, सैनिक अस्पताललगायतमा आइसोलेसनमा राख्नका लागि पठाउँछ । यी आइसोलेसन केन्द्रमा प्रत्यक्ष व्यक्तिगतरुपमा जाने व्यक्तिलाई भर्ना लिइन्न । हाल, सातै प्रदेशमा यस्ता आइसोलेसन र क्वारेन्टिन केन्द्रको व्यवस्था गरिएको छ ।

सशस्त्र प्रहरीका डीआईजी तथा प्रवक्ता राजु अर्यालले जानकारी गराएअनुसार सशस्त्र प्रहरी अस्पताल पनि भनिने युनिफाइड कमान्ड हस्पिटलमा जेठयता उपचार गराएर घर फर्किनेको संख्या ७ सय ८ रहेको छ भने २ सय १२ उपचाररत छन् । आठ थान भेन्टिलेटर सेवा पनि उपलब्ध रहेको यस अस्पतालमा बाहिरबाट रिफर भई आएका गम्भीर अवस्थाका १० कोभिड–बिरामीको भने निधन भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech