ग्राहकलाई जरिवाना नगर्न नेपाल विद्युत् प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

  |   प्रकाशित :

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना लगाउने काम नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।  

मन्त्री पुनले कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका छन् । 

कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुनसकेको थिएन । कतिपय ग्राहकबाट सो अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिएका हुन् । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन।    

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech