उपचार खर्च आफै व्यहोर्न भनेपछि प्रदर्शनमा उत्रिए संक्रमितहरु, अस्पतालमै लाग्यो 'केपी ओली मुर्दावादको नारा'

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षण र उपचार खर्च आफै व्यहोर्नुपर्ने सरकारी निर्णयविरुद्ध संक्रमितहरु प्रदर्शनमा उत्रिएका छन् । देशभरी यो निर्णयको चर्को विरोध भइरहेका बेला प्रदेश एकमा संक्रमितहरु नै प्रदर्शनमा उत्रिएका हुन् । सरकारले कोरोना संक्रमितको उपचारमा खर्च गर्न नसक्ने र संक्रमित आफैँले सबै खर्च बेहोर्नुपर्ने निर्णय आइतबार गरेको थियो । 

उक्त निर्णय सुनाएपछि मोरङको एक निजी अस्पतालमा संक्रमितहरुले प्रदर्शन गरेका हुन् । बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विरामीले केपी ओली सरकार मुर्दावाद भन्दै प्रदर्शन गरेका हुन् ।  

अस्पतालको कोभिड आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार सरकारी निर्णय सुनाउँदा संक्रमित तथा उनका आफन्तले प्रदर्शनमात्रै गरेनन् अस्पताल पनि छोडेर हिँडे। इञ्चार्ज देवले सरकारले संक्रमितलाई मात्र होइन निजी अस्पताल सञ्चालकलाई पनि धोका दिएको गुनासो गरे । 

उनका अनुसार निर्णय सुनाएसँगै सोमबार साँझसम्म ५५ जना संक्रमित निको नहुँदै घरतिर लागेका छन्। उपचार खर्च व्यहोर्न नसक्ने भएपछि उनीहरु जोखिम मोलेर अस्पतालबाट निस्किएका हुन् ।  यसबाट समुदायस्तरमा संक्रमण फैलिने खतरा बढेको विज्ञहरु बताउँछन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech