काठमाडौं । चीनको सामना गर्नका लागि भारत महत्त्वपूर्ण साझेदार भएको जनाइएको छ ।
अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनका निकट साझेदार एन्टोनी ब्लिन्केनले चीनको सामना गर्नका लागि भारत महत्त्वपूर्ण साझेदार भएको बताएका हुन् ।
‘चीनले भारतविरुद्ध वास्तविक नियन्त्रण रेखामा देखाएको आक्रामकता लगायत चीनको बढ्दो प्रभुत्वको सामना गर्ने साझा चुनौती छ,’ ब्लिन्केनले भने । ब्लिन्केनलाई बाइडनले परराष्ट्रमन्त्री बनाउने घोषणा गरेका छन् र माथिल्लो सदन सिनेटको मञ्जूरी लिन बाँकी छ ।
गत मे महिनादेखि भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा सीमा तनाव बढिरहेको छ । भारतका लागि अमेरिकाका पूर्व राजदूत रिचर्ड वर्माले सोधेको प्रश्नको उत्तर दिँदै ब्लिन्केनले बाइडन प्रशासन भारतसँग नजिकै रहेर काम गर्न इच्छुक रहेको बताए । दुई देशको लोकतान्त्रिक सम्बन्धलाई बाइडनले नवीकरण गर्ने उनले बताए ।