संविधान संशोधनमा थोरै तलमाथि भए सरकारमा एक मिनेट बस्दैनाैंः प्रदीप यादव

  |   प्रकाशित :

काठमाडाैं । युवा नेता तथा पर्सा जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव नेपाली राजनीतिमा एक चम्किला तारा जस्तै उदयीमान नेताका रुपमा चिनिन्छन् । 

जनताको हित र अधिकारको लडाईमा अग्र मोर्चामा उभिने यादवलाई पर्सा जिल्लामा मात्रै होइन् संसद भवनमा समेत खोजिन्छ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित सांसद यादव सदनमा विपक्षी दलको नेता झै जनताको पक्षमा कडा बोल्छन् । राजधानी भन्दा धेरै समय जिल्लाको विकास र जनताका समस्या सुन्न पर्सामै व्यस्त हुने सांसद यादवसँग नेपालपानाकर्मीले गरेको कुराकानीको सम्पादीत अंशः

पर्सा क्षेत्र नं १ बाट निर्वाचित भए पश्चात तपाईको निर्वाचन क्षेत्र विकासका लागि के कस्ता कामहरु सम्पन्न भए र हुने प्रक्रियामा छन् ?

पर्सा जिल्ला क्षेत्र नं १ बाट चुनाव जिति सकेपछि विकासका कुरा गर्दा सरकारले १ वर्ष त बजेट नै दिएन्, यसकारण विकासका कामले खासै गति लिन सकेनन् । तर, अहिले पूर्वाधार विकास अन्तरगत सरकारले २० वटा काम तोकेर चार करोड बजेट दिएको छ । र मैले मेरो क्षेत्रमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिसहित सबै वडाका मान्छे भेला पारेर जनताका इच्चा, आकांक्षा अनुसार काम गरेको छु । जसमा दलित बस्ति पनि छ । मुख्य सडकमा सोलार लाइट पनि छ । प्रत्येक गाँउमा विवाह भवन पनि छ । स्कुल पनि छ । वीरगंज शहर मात्रै होइन प्रत्येक वडा छुने गरि बाइपास सडक, मिनि सडक लगायतका थुप्रै सडकमा सिसि क्यामेरा जडानको लक्ष्य पनि रहेको छ । यसको उद्घाटन समेत भइ सकेको छ । अहिले काम तीब्र गतिमा अगाडि बढेको पनि छ । 

सिसि क्यामेरा जडानको कुरा गर्नु भो, तर अहिले तराईमा सुरक्षा खतरा बढेर गएको देखिन्छ । सिमा पारिबाट आउने गोली हान्ने हत्या गरेर जाने भइराखेको छ । यसमा प्रविधिको प्रयोगमा अगाडि बढ्नु भो कस्तो अपेक्षा गर्नु भाछ ?

एकदमै आशावादी छु । सिसि क्यामेरा जहाँ राखिन्छ त्यहाको अपराध घटेर जान्छ । किनकी अपराधीलाई थाहा हुन्छ की अनुहार चिनिएला भन्ने । अपराधीमा यसले डर पैदा गर्ने हुने हुनाले अपराध घट्ने कुरामा त कुनै शंका नै छैन् । यसकारण अपराधीहरु अपराध गर्न जाँदैनन् । 

सिसि क्यामेरा भएपछि अपराध हुँदैन भन्ने कुरामा पनि विश्वास गर्न त नसकिदो रैछ नी हैन । जस्तो निर्मला प्रकरणमा यस्तै देखियो । फुटेज नै गायब पारियो । काठमाडाैं रिकभर गर्न भनेर ल्याएको कयाैं दिन बित्दा समेत केहि ठेगान छैन् ? यसको लागि कसरी व्यवस्थापन गर्ने सोच्नु भाछ? 

निर्मला प्रकरण देशको लागि अत्यन्तै दुखःद घटना थियो । जति निन्दा गरेपनि पुग्दैन । उनको परिवारको दुख देख्छु मन जलेर आउँछ । मलाई लाग्छ सरकारले यसबारे गम्भीर भएर अनुसन्धान गरेर न्याय दिनेछ । अँ, अपराधीको मानसिकता र यस्ता प्राविधिक कुरा भनेको अलि फरक कुरा पनि हो । खैर, यसको जिम्मा पर्सा जिल्ला प्रहरीलाई दिने र उसैले यसको नियमण अनुगमन सबै काम गर्ने छ । किनकी शान्ति सुरक्षाको जिम्मा लिने त प्रहरी नै होनी हैन् । यसर्थ हामी विभिन्न निकायसँग समन्वय गरेर छिट्टै वीरगंज शहरका विभिन्न ठाँउमा सिसि क्यामेरा जडान गर्नेछाैं । 

मधेसमा आन्दोलनको राँको बलेको थियो, थुप्रैले ज्यानको आहुति दिए । तर, यता सत्तारुढ दल दिवस मनाइरहेका थिए । यसैमा संविधान संशोधनको आश्वासनसहित सरकारमा सहभागी हुनु भो तर, संविधान संशोधन हुने नदेखिदा समेत पार्टी माैन हुनुका पछाडि के छ ? पार्टीको धारणा के छ ?

निश्चित रुपमा मधेसमा जनता रुष्ठ बनेका थिए । यसै क्रममा प्रधानमन्त्री आेली  जी झुकेर हामीलाई सरकारमा ल्याउनु भएको न हो । हामी सरकारमा आउन मरिहत्ते गरेर आएका होइनाैं । संविधान संशोधनका लागि नै हामि सरकारमा गएका छाैं । हामी जागिर खानालाई सरकारमा गएका होइनाैं । तर, यो सरकारमा हामि नगएको भएपनि सरकार त बन्थ्यो नै । स्पष्ठ बहुमत थियो उनीहरुसँग । हाम्रो कुरा राख्न सजिलो हुन्छ । क्याबिनेटमा कुरा राखन सजिलो हुन्छ । सदनमा कुरा राख्न सजिलो हुन्छ भन्ने कुराले मात्रै सरकारमा गएका हाैं । र संविधान संशोधनका लागि हाम्रो दवाव जारी नै छ । 

उसो भए मधेसी जनताले कहिले कति समयपछि संविधान संशोधन भयो भनेर दिपावली मनाउन पाँउछन् ?

समय ठ्याक्कै त नतोकाैं । महिना दिन दश दिन यति दिन भनेर तर, संविधान संशोधन भएन भने हामी सरकारमा एक मिनेट बस्दैनाैं । 

उसो त सरकारको गति शून्य जस्तै भएको छ । चाैतर्फी विरोध भइरहेको छ । काम गर्न सकेन भनेर विपक्षीले त खेदो नै खन्न थालिसकेको छ । जनता समेत आजित भएका छन् नी ?

हेर्नुस् अब... यसमा मेरो बुझाई के छ भने, की नाै महिनामा कसैले पनि केहि गर्न सक्दैन । जादुको छडी होइन की जादु हान्यो काम भइहाल्छ । नाै महिना त मनुष्यको जन्म हुन समय लाग्छ । र जन्मिने वित्तिकै उसले काम गर्न सक्दैन पनि । समय चाहिन्छ । त्यसैले मलाई यो सरकारप्रति पूर्ण विश्वास छ । यो सरकारले निश्चित रुपमा काम गर्न नसकेको कुरा साँचो हो । जनताको आक्रोस पनि छ । कारण हो दुई तिहाईको सरकार । सरकारले काम गर्छ । त्यसमा पनि सरकारलाई केहि यस्ता बाधा छन् । जुन ब्युरोक्रेसी नै त्यस्तो छ । ब्युरोक्रेसीले सहयोग गरिरखेको छैन् । त्यसमा समेत सरकारले लगाम लगाउन जरुरी छ । सायद यी कुरालाई चिर्दै सरकारले निश्चित रुपमा काम गर्नेछ ।  

ब्युरोक्रेसीको कुरा निकाल्नु भो । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले केहि दिन पहिले एक कार्यक्रममा ब्युरोक्रेसीका माथिल्ला निकायमा हाकिमलाई ननिकालेसम्म देशमा विकास हुँदैन भन्नू भा थियो । तपाईको कुरा पनि त्यस्तै छ । डाडू पन्यु तपाईहरुको आफ्नै हातमा छ तर तपाईहरु काम गर्न दिन्नन् पनि भन्नूहुन्छ । उसो भए किन हटाउन सक्नुहुन्न त ?

ब्युरोक्रेसीको कुरा गर्नुहुन्छ भने एकतन्त्रिय ढंगले चलाएको देश हो यो । वर्षाैदेखि जनप्रतिनिधि नहुँदा उनीहरुको राज नै चल्थ्यो । देशमा विभिन्न आन्दोलन भए । जनयुद्ध भयो, जनआन्दोलन भयो, मधेस आन्दोलन भयो लगायतका अन्य थुप्रै आन्दोलन भए । संविधानको बारेमा यस्तै देखियो । नेताहरु यता लागे ब्युरोक्रेट्सरुले देस चलाए । त्यसकारण समेत उनीहरु आफैमा बलिया ठान्ने प्रवृत्ति छ । सरकारलाई असहयोग लगायतका कुरा छन् । र त्यसमा निश्चित रुपमा सरकार गम्भीर हुनुपर्छ । छानविन हुनुपर्छ र सरकारको गतिलाई अगाडि बढाउनु पर्छ । 

तपाई सत्तारुढ दलको सांसद हुनुहुन्छ तर संसदमा सधै विपक्षी दलको नेताजस्तो भुमिकामा सरकारको विरोध गर्नुहुन्छ । यसले पार्टीमा तपाईको विरोध हुँदैन ?

होइन मलाई अप्ठ्यारो पर्ने कुरा हुँदैन । मेरो पार्टीको अध्यक्षको स्पष्ठ चाहना धारणा के छ भने, देशको मुद्धामा, जनताको मुद्धामा सरकारको आलोचना गर्नु पर्छ भने गर्ने पछि नहट्ने । त्यसै कारणले हामिले जनताको विश्वासलाई सम्झदै काम गर्नु पर्ने हुन्छ । जनताको पक्षमा बोल्छाैं । त्यसबारे कसैको पक्ष विपक्ष भन्ने कुराको मलतव पनि छैन् । 

प्रदेश २ सरकार तपाईको पार्टीको नेतृत्वमा बनेको छ । तर प्रायः विवादीत निर्णय ( प्रदेश प्रहरी एेन, मदरसा बोर्ड गठन, केन्द्रसँग समन्वय नगरेर कर्मचारी भर्ना) लगायतका काम गरेर सरकार मात्रै नभएर पार्टी नै बदनाम हुने स्थितिमा पुगेको भन्ने टिप्पणी पनि सुनिन्छ । विवादीत काम मात्रै गर्ने हो या विकास पनि ?

अब यसमा कुरा केछ भने प्रदेश २ सरकारले कुनै पनि विवादीत निर्णय गरेको छैन् । मदरसा बोर्डको कुरा पनि बाहिर आएजस्तो कुरा होइन् । मदरसाको कुरा पनि कुनै खराब कुरा होइन । प्रदेश सरकारले ल्याएको प्रहरी एेन, कर्मचारी भर्नाका कुरा सान्दर्भिक कुरा हो । केन्द्र सरकारले पनि नगर्ने अनि प्रदेश सरकारले गर्दा पनि विरोध गर्न त भएन नी होइन । काम गर्न अगाडि बढि राखेको कुरा त राम्रो हो नी । आफू गर्न पर्छ की अरुलाई गर्न दिनुपर्छ । यसर्थ प्रदेश सरकारको निर्णय उचित र जायज छ । 

प्रदेश सरकारकै कारण केन्द्र सरकारसँग मतभेद सुरु भएको भन्ने कुरा पनि छ नी ?

त्यो सबै संघीयता नचाहनेहरुले चलाएको हल्ला हो । विभिन्न शक्तिले आफ्नो डिजाइनमा केहि गर्न खोजेका हुन् । तर फोरम राजपाको गठबन्धन सरकारले यस्तो हुन दिदैन । हाम्रो एकता मजबुत छ । पवित्र गठबन्धन छ । केन्द्र सरकार र हाम्रो पार्टीबीच कुनै मतभेद छैन् । 

अन्त्यमा केहि भन्नू छ ?

नेपालपानालाई विशेष धन्यवाद् । मेरो कुरा राख्ने माैका दिनु भो, जनताको कुरा सुन्नू भो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech