जंगबहादुरलाई कपडा बेच्न भित्रिएका मारवाडी, जसले खडा गरे व्यवसायिक साम्राज्य !


युद्धदेखि उद्योगसम्म सघाईरहेका मारवाडीहरुको नेपालप्रेम 
नेपालपाना प्रकाशित: २०७५-१२-२ गते
जंगबहादुरलाई कपडा बेच्न भित्रिएका मारवाडी, जसले खडा गरे व्यवसायिक साम्राज्य !

काठमाडाैं । वि.सं. १९१२ मा नेपाल र भोटबीच युद्ध भयो । यो युद्धमा सघाएबापत नेपालका श्री ३ जंगबहादुरले मारवाडीहरुको उच्चडमल परिवारका एक सदस्यलाई तक्मा नै दिए । जंगबहादुरकै आग्रहमा व्यवसाय प्रवद्र्धनका लागि नेपाल आएका मारवाडीहरुको सातौं पुस्ताले अहिले नेपालमा व्यवसायिक साम्राज्य खडा गरिदिएको छ । 

नेपाल–भारत सम्बन्धका सांस्कृतिक र आर्थिक आयाममा मारवाडीहरुको नेपाल बसाईले झन्डै १७० बर्षदेखि नै निकै महत्वपूर्ण अर्थ राखिरहेको छ । मारवाडीहरुले नेपालका श्री ३ को आग्रहमा जसरी व्यवसायिक सहयोग गरे, त्यसबाट प्राप्त नाफालाई नेपालकै श्रीबृद्धिमा खर्च गरिरहेका छन् । 

भारतबाट वि.सं. १९०० को पहिलो दशकमै नेपाल भित्रिएका मारवाडीको सातौं पुस्ताले अहिले नेपालको अर्थतन्त्र अघि बढाउन लगानी, चिन्ता र चासो व्यक्त गरिहेको छ । ‘जंगबहादुरको देश’ मा कपडा बेच्न आएका मारवाडीहरुले आफनो व्यवसायिक दायरालाई अहिले अस्पताल, वित्तीय क्षेत्र, विद्युतीय उत्पादन, अटोमोबाईल्सदेखि खाद्यान्नसम्म विस्तार गरिसकेका छन । 

यस्तो छ ईतिहास 

कारोबार प्रमाणबाहेक मारवाडीहरु नेपाल छिरेको तिथिमितिबारे एकीन तथ्य त छैन । तर, बेतियामा रहेकी आफ्नी बुहारीको घर जाँदा जंगबहादुरले मारवाडीहरु भेटेका र त्यतैबाट नेपाल भित्र्याएको बुझिन्छ । बेतियामा भेटिएका मारवाडीहरु राजस्थानबाट बसाईँ सरेका थिए । जंगबहादुरले हरजश राय, उच्चडमल मारवाडी (टिवडेवाला) र आशाराम–घाँसीराम (सुरजमल) लाई व्यवसायकै लागि नेपाल भित्र्याएका थिए । 

निरञ्जन टिवडेवाल उच्चडमलका छैठौं पुस्तामा पर्छन् । वि.सं. १९२१ मा आफ्नो पूर्वजले नेपालमा कारोबार गरेको प्रमाण रहेको टिवटेवाल बताउँछन । उद्योगपति राजेन्द्र खेताका पूर्वजले पनि सन १९६६ मै नेपालमा व्यवसायिक कारोबारका लागि सरकारी निस्सा पाएका थिए । 

जंगबहादुर प्रधानमन्त्री बन्नासाथ नेपाल भित्रिएका मारवाडीहरुमध्ये धेरैजसोले भारत र तेस्रो मुलुकबाट कपडा आयात गरि नेपालमा बेच्ने गर्थे । मखन, इन्द्रचोक, भेडासिंमा मारवाडीहरुको पसल त्यतिखेरै खुलेको थियो । चन्द्रशमशेर प्रधानमन्त्री भएका बेला रामकरण–केदारदास, मायाराम–भोलाराम, बुधराम–हरिजश राय, चुनीलाल–हरिनारायणहरु नेपालका नामी व्यापारी भएको लण्डन एअरबुकमा उल्लेखित छ । 

मारवाडीहरुलाई नेपालमा सुविधा 

जंगबहादुर स्वयंले बेतियाबाट व्यापारकै लागि ल्याएकाले मारबाडीहरुले दरबारबाट पनि सहयोग पाए । राणाले त्यतिखेर झिकाएका ३२ परिवारमध्ये २२ परिवार मारवाडी र १० परिवार रौनियारहरु रहेको अनुमान छ । यिनै ३२ परिवारलाई राणाले ३२ कोठी महाराजको पदवी दिएका थिए । 

काठमाडौं उपत्यका छिर्न त्यतिखेर नेपालीले नै अनुमति लिनुपर्ने अवस्था थियो । तर मारवाडीहरुलाई भने राणाशासकले जग्गाजमीन किन्ने सुविधा समेत दिएका थिए । नागरिकता दिने, सुरक्षा र सहयोगीहरु खटाउन पाउने सर्तमै मारवाडीहरु नेपाल आएको यस समुदायका अगुवाहरु दाबी गर्छन । 

त्यतिखेर मारवाडीहरुले नेपाल आयात गरेको सामानमा सरकारले भन्सार समेत छुट दिएको थियो । जति सामान ल्याएपनि स्वघोषणा गरि ६ महिनाभित्र कर तिरेपनि हुन्थ्यो । 

चौधरी समूहको जग त जुद्ध समशेरले दिएको पसलबाटै शुरु भएको थियो । विनोद चौधरीका हजुरबुबालाई जुद्धले पुरस्कारस्वरुप नयाँ पसल कवल दिएका थिए । 

९० सालको भुईचालो : स्थानीयले च्युरा लुकाउँदा मारवाडीको सहयोग 

वि.सं. १९९० मा भुईँचालो जाँदा जुद्धसमशेर राणा प्रधानमन्त्री (श्री ३) थिए । मारवाडीहरुलाई लखेट्न जुद्धकै रानीहरुले समेत कान फुक्ने गरेका थिए । तर, जब विनासकारी भूकम्पले देश तहसनहस भयो : तब स्थानीय व्यापारीहरुले च्युरा समेत लुकाए । 

तर मारवाडीहरुले विपत्तीमा परेका नेपाली नागरिक र शासकलाई सकेसम्म सहयोग गरे । जुद्ध शमशेरले त्यतिखेर ‘बडा उल्टो सोचेको रहेछु, आपत्मा मारवाडीले सहयोग गरे, यहाँका साहू (अन्य व्यापारी) हरूले त च्युरा समेत लुकाए’ भनेको मारवाडीहरु बताउँछन । 

मारवाडीहरुको प्रगति 

नेपालका प्रथम फोब्र्स अर्बपति बिनोद चौधरी मारवाडी समूदायकै हुन । उनी मल्टीनेशनल नेपाली व्यवसायी हुन । चौधरीले सीजी ग्रुपबाट विभिन्न वित्तीय र व्यवसायिक कारोबार गरिरहेका छन । 

नेपालको व्यापार–व्यवसायको ठूलो हिस्सा नै ओगटेर बसेको मारवाडी समूदायमा चौधरीका अलावा गोल्छा, विशाल समूह, टीएम दुगड समूह, मुरारका, एमसी समूह र केडिया, एमएस समूह, गोयल समूह, तातेड परिवार, मदनलाल–चिरञ्जीलाल समूह, राठी, गोयल, जैन, संघाई र अग्रवाल समूह, खेतानपरिवार, शंकरलाल अग्रवाल, जगदीश अग्रवाल र पवनकुमार भिमसरिया, निरन्जनकुमार टिबरेवाला र मनोजकुमार अग्रवाल बारम्बार सुनिने नामहरु हुन । 

नेपालको उत्पादनदेखि सेवा क्षेत्र, बैंक तथा वित्तीय एवं पूँजीबजारसम्म मारवाडीहरुको साम्राज्य नै फैलिएको छ । जनसंख्या १ लाखको हाराहारीमा भएपनि हरेक नेपालकहाँ अहिले मारवाडी समुदायका उत्पादन र व्यापार–व्यवसायको तरंग फैलिएकै छ । 

जुट उद्योग स्थापनामा गोल्छा, विमान कम्पनी सञ्चालनमा खेतान, पेट्रोलियम आयातमा टिबरेवाला र अपार्टमेन्ट व्यवसायमा सुरजमल परिवारको महत्वपूर्ण भूमिका रहिआएको छ । शंकरलाल टिबरेवालाले १९९० सालमा कालीमाटीमा नेपालकै पहिलो पेट्रोलपम्प खोलेका थिए ।

रोजगारीदेखि राजस्वसम्म 

नेपालमा अहिले ठुला करदाता कार्यालयले बुझ्ने राजस्वको हिस्सा हेर्दा मारवाडी समुदायबाटै खुलेका उद्योगहरुको योगदान बढी देखिन्छ । मारवाडीहरुले खोलेका उद्योग र व्यवसायमा हजारौंको संख्यामा नभई लाखौंको संख्यामा रोजगारी सृजना भईरहेको छ । नाफालाई सञ्चित नगर्ने, बरु व्यवसाय विस्तार गरिहाल्ने शैलीका कारण दिनानुदिन मारवाडीहरुले रोजगारीको सृजना गरिरहेका छन ।

बैंकिङ क्षेत्र 

नेपालका निजी बैंकहरुमा मारवाडी समुदायले निकै लगानी गरेको छ । लगभग बैंकिङ क्षेत्रमा मारवाडीहरुको आधिपत्य नै छ भन्दा अतिशयोक्ति हुँदैन । 
सनराइज, एनआईसी एशिया, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंकमा ६० प्रतिशतभन्दा बढी, नबिल बैंकमा ५३ प्रतिशत, कुमारी र सिभिल बैंकमा १५ प्रतिशत, नेपाल बैंकमा २० प्रतिशत मारवाडीको लगानी छ ।

स्टेटब्याङ्क अफ इन्डियाको ५५ प्रतिशत शेयर रहेको नेपाल एसबीआईब्याङ्कमा निरन्जनकुमार टिबरेवाला र मनोजकुमार अग्रवाल सञ्चालक छन् । कुमारी ब्याङ्कमा शारडा परिवार प्रवर्द्धक छ । यो बैंकमा मुरारका, दुगड, गोयल समूहको पनि लगानी छ । टीएम दुगड परिवारको २३ प्रतिशत एकमुष्ट शेयर रहेकोसनराइजब्याङ्कमा गोयल परिवारको १० प्रतिशत शेयर छ भने अग्रवाल, शारडा र तातेड परिवारको पनि ठूलै लगानी छ ।

मदनलाल–चिरञ्जीलाल समूहको २० प्रतिशत शेयर रहेको सिद्धार्थब्याङ्कमा केडिया समूहको पनि लगानी छ। चिरञ्जीलाल अग्रवाल अध्यक्ष रहेको यो ब्याङ्कको ६ जना सञ्चालक मारवाडी छन् । एनएमबीब्याङ्कमा मुरारका, अग्रवाल, राठी, गोयल, जैन लगायतको लगानी छ। त्यस्तै, कमर्ज एन्ड ट्रस्टमा मारवाडी परिवारको ७ प्रतिशत लगानी छ। नेपाल ब्याङ्कमा गोल्छा, खेतान परिवार र निरन्जनकुमार टिबरेवालाको उल्लेख्य शेयर छ।

एनआईसी एशियामा अध्यक्ष जगदीश अग्रवाल सहित ६ सदस्य र लक्ष्मी ब्याङ्कमा अध्यक्ष राजेन्द्र खेतान सहित ४ सदस्य मारवाडी छन्। सनराइज ब्याङ्कमा अध्यक्ष मोतीलाल दुगड सहित पाँच सदस्य मारवाडी छन्। प्राइम र कुमारी ब्याङ्कमा केएल दुगड समूहको संस्थापक शेयर छ। ग्लोबल ब्याङ्कमा मारवाडी परिवारको ८ प्रतिशत लगानी छ भने लुम्बिनी ब्याङ्कमा ६ प्रतिशत। ब्याङ्क अफ काठमाडौं, जनता, नेपाल इन्भेष्टमेन्ट, मेगा लगायतका ब्याङ्कहरूमा पनि मारवाडीहरूको लगानी छ ।

२३ बीमा कम्पनीमध्ये ११ वटामा मारवाडी समुदायको मुख्य लगानी छ। अन्य कम्पनीमा पनि उनीहरूको धेरथोर लगानी छ। संघाई र अग्रवाल समूहको बढी शेयर रहेको नेशनल लाइफ इन्स्योरेन्समा करीब ८० प्रतिशत लगानी मारवाडी समुदायको छ। एलआईसी इन्डियाको ५५ प्रतिशत शेयर रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनमा विशाल समूहको २५ प्रतिशत लगानी छ।

विजयकुमार सरावगी अध्यक्ष रहेको एशियन लाइफ इन्स्योरेन्समा मारवाडी समुदायको ४० प्रतिशतभन्दा बढी लगानी छ। यसैगरी, टीएम दुगड समूहको मुख्य लगानी रहेको गुराँस लाइफ इन्स्योरेन्समा ७० प्रतिशत, महेशकुमार अग्रवाल अध्यक्ष रहेको सूर्या लाइफ इन्स्योरेन्समा ७० प्रतिशत र प्रेमप्रकाश खेतान अध्यक्ष रहेको प्राइम लाइफ इन्स्योरेन्समा पनि ७० प्रतिशत शेयर हिस्सा मारवाडी समुदायकै छ। युनाइटेड इन्स्योरेन्समा चौधरी समूहको करीब २६ प्रतिशत लगानी छ ।

खेतान समूह मुख्य प्रवर्द्धक रहेको एभरेष्ट इन्स्योरेन्समा ६० प्रतिशतभन्दा बढी लगानी निरन्जन टिबरेवाला सहितका मारवाडी परिवारको छ। सगरमाथा इन्स्योरेन्सको बहुमत शेयर गोल्छा, मदनलाल चिरञ्जीलाल लगायत मारवाडी समुदायसँग छ। सिद्धार्थ इन्स्योरेन्समा केडिया, अग्रवाल समूह सहितका मारवाडीहरूको ६० प्रतिशत लगानी छ।

विशाल समूहको ३० प्रतिशत लगानी रहेको प्रुडेन्सियल इन्स्योरेन्समा करीब ६० प्रतिशत लगानी मारवाडी समुदायको छ। शिखर इन्स्योरेन्स र एनएलजीमा पनि मारवाडीहरूको लगानी छ।

सिमेन्ट उद्योगहरू मारवाडीकै हातमा छन् । ४० सिमेन्ट उद्योगमध्ये ३० भन्दा बढी मारवाडीहरूको हो। केडिया, गोयल, अग्रवाल, संघाई, गोल्यान, राठी, तायल, कयाल, चौधरी, लक्की, शारडा, मुरारका, चाचान आदि मारवाडी परिवार सिमेन्ट उद्योगमा अग्रणी छन् ।

खाद्य उद्योगमा त मारवाडीहरूको एकाधिकार नै छ भन्दा हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट मेम्बर अन्तर्गत फुड प्रोसेसिङमा संलग्न कुल ४२ मध्ये २९ सदस्य मारवाडी छन्। वनस्पति घ्यू, तेल, फास्ट मुभिङ कन्जुमर गुड्स, मसला, दाल, मैदा बिस्कुट आदि उत्पादन गर्ने अधिकांश कम्पनी मारवाडीका छन्। वनस्पति घ्यू र तेलका ठूला १६ वटै कम्पनी मारवाडीको स्वामित्वमा छन्। बिस्कुट र चाउचाउका सबै नामी ब्रान्ड मारवाडीहरूकै हुन्। महासंघको फलाम, स्टील, पाइप र अल्मुनियम अन्तर्गतका २२ एसोसिएट सदस्यमध्ये ९ मारवाडी समुदायका छन्। स्टीलनेस स्टीलका ९ मध्ये ६ वटा कम्पनी मारवाडी व्यवसायीका छन  (हिमाल खबरपत्रिका)।

साबुन केमिकल र डिटरजेन्ट : पाँचमध्ये चार उद्योग मारवाडीको । 
चिनी उत्पादन : ११ उद्योगमध्ये ९ वटा मारवाडीका ।
जुट उद्योग : चारमध्ये तीन उद्योग मारवाडीको ।
विद्युतीय तार : उत्पादन गर्ने १० उद्योगमध्ये आधामा मारवाडी परिवारको लगानी
ज्वेलरी र जेम्स :२२ एसोसिएट सदस्यमध्ये ८ जना मारवाडी
कत्था, रोजिन एन्ड टर्पेन्टाइन : पाँचमध्ये तीन उद्योग मारवाडीको । 
प्याकेजिङ, कागज, पल्प र स्ट्र बोर्ड : ९ सदस्य उद्योगमध्ये ६ वटा मारवाडीको । 
प्लाष्टिक, फर्म, पोलिथिन र रबर : २२ सदस्य उद्योगमध्ये १३ वटा मारवाडीका ।
कपडा, गार्मेन्ट, कार्पेट, उलन र धागो : ३६ ठूला उद्योगमध्ये १३ मारवाडीका ।
ट्रेडिङ : ५४ मध्ये १३ कम्पनीका मालिक मारवाडी । 

सेवामूलक उद्योग
राधेश्याम सर्राफ : याक एन्ड यती र ह्यात होटल
शशिकान्त अग्रवाल : म्यारिओट चेन भित्र्याएका । 
शंकर समूह : काठमाडौं र उपत्यका बाहिर पाँचतारे होटलको लागि जग्गा खरिद गरिरहेको । 
मोती दुगड : पाँचतारे होटल निर्माणको प्रक्रिया थालेका 
चौधरी समूह : नवलपरासी र चितवनमा रिसोर्टहरू बनाईरहेको । 

सूचना–प्रविधी 
सामसुङ ब्रान्ड : दीपक मल्होत्रा
एप्पल : शंकर समूह 
नोकिया : गोल्छा समूह
स्पाइस, कलर्स, ब्ल्याकबेरी : लक्की समूह
सीजी र एलजी : चौधरी समूह
एचपी, लोगिटेक, डेल, हुवावे : गोल्छा समूह 

घरायसी उपकरण र विद्युतीय सामग्री
सामसुङ ब्रान्ड : गोल्छा समूह
सार्प टीभी : शंकर समूह
एलजी र सीजी : चौधरी ग्रुप 
फुजित्सु, प्रोलिंक, भर्बाटिम : एसएचटीसी
अन्य व्यवसाय 
नर्भिक अस्पताल : चौधरी समूह
कान्तिपुर मिडिया : कैलाश सिरोहिया 
हाउजिङ र अपार्टमेन्ट :  चौधरी, एमसस, सुरजमल समूह, केएल दुगड समूह तथा राजकुमार अग्रवाल
प्रविधि र शिक्षा : पंकज जलान
आईटी :  दिलीप अग्रवाल
 


तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..