बर्बादी र दुर्भाग्यमा बदलिँदै कम्युनिष्ट सत्ता ! जनताको पीडामा ओली-प्रचण्डको भद्दा मजाक


पालैपालो भ्रष्टाचार गराउन मन्त्री हेरफेरको हल्ला ! यसरी कुम्ल्याउँदैछन् अहिलेका मन्त्रीहरूले
नेपालपाना प्रकाशित: २०७५-१२-३ गते
बर्बादी र दुर्भाग्यमा बदलिँदै कम्युनिष्ट सत्ता ! जनताको पीडामा ओली-प्रचण्डको भद्दा मजाक

काठमाडाैं । अहिलेका प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई उनकै कार्यकर्ताले मार्क्स वा लेनिन मान्दा हुन्, तर सर्वसाधारण अधिक नागरिकले यी दुईप्रति हेर्ने दृष्ट्रिकोण निकै फरक छ । 

बृद्धभत्ता दोब्बर बनाइदिन्छु भन्दै बुढाबुढी झुक्याएर चुनाव जितेका ओली-प्रचण्डको पार्टी (ने.क.पा.) को सरकार दिनहुँ जोक्करतन्त्रमा बदलिँदैछ । कमाउ धन्धाबाहेक ओलीका मन्त्रीहरूले महशुश हुनेगरि न अहिलेसम्म कुनै गतिला काम गरेका छन्, न हल्लाखल्लाको प्रपञ्च त्यागेका छन् । 

यतिखेर, ओली र प्रचण्ड अर्को नाटकमा लागेका छन् : मन्त्री फेर्ने । कारण : जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको । झट्ट सोच्दा दुइतिहाइ बहुमतको कम्युनिष्ट सत्ताले मन्त्री फेर्न देखाएको कारण जायज लाग्न सक्छ । कामै नगर्ने मन्त्रीलाई किन राख्नु र ? 

तर कुरा अर्कै छ । साविकको माओवादी र एमाले पार्टी गाभिएर अहिलेको (ने.क.पा.) बनेको हो । थोरै सांसद हुँदा पनि राजनीतिमा च्याँखेदाउ थापेर सत्तामा गइरहने बानी परेका प्रचण्ड र ओलीले चुनावमा पनि धेरै नै सांसद जिताउन सके । अब सकस भयो दुवैतर्फका नेताहरूको व्यवस्थापन । 

प्रचण्डले त आफ्ना जनसेनालाई नै शिविरबाटै चेक खोसेर खेदेका हुन् । साविकको माओवादी कार्यकर्ताहरू कि त निराश हुँदै विदेश भासिए, कि त हनुमानगिरी गर्दै गाउँगाउँमा भ्रष्टाचारी र आपराधिक गतिविधीमा सामेल भए । निकै थोरै मात्र इमान्दार कार्यकर्ताहरूले माओवादी पार्टी  जोगाउँदै आएका हुन् , त्यै पनि प्रचण्डले एमालेमा मिसाइदिए । 

महाकाली सन्धीअघि नै आर्थिक अनियमिततामा चुर्लुम्मै मुछिएका ओलीबारे त्यतिखेर बामदेव गाैतमले एमाले फुटाउँदा नै छरपष्ट पारिदिएका हुन् । पञ्चायतले झण्डै डेढदशक ठिंगुरामा कोचेपछि त्यसैको ब्याज खाँदै आएका ओली अहिले प्रधानमन्त्री छन् । यी मानिस देश र नागरिकप्रति जवाफदेही छैनन् भन्ने कुरा काठमाडाैंमा एकदिन सार्वजनिक यातायात चढ्दैमा थाहा हुन्छ । नगरबाट धुवाँ, धुलो, फोहोर र दुर्गन्ध समेत हटाउन नसक्ने यी ओलीले सत्ता टिकाउन र आफुलाई महान शासक कहलाउन अनेक फण्डा गर्दै आएका छन् । 

मन्त्री हेरफेरको नाैटंकी 

जसरी हल्ला गरेपनि, अनेक राजनीतिक दुर्घटना गराएपनि जनताले खेदो खन्न नछाडेपछि अहिले ओली-प्रचण्डले नयाँ फण्डा फालेका छन् : मन्त्री फेर्ने । यसभित्रको कुत्सित नियत बुझ्ने हो निकै भयंकर छ । 

एमालेमा मिसिएपछि प्रचण्डको समीकरण यसै-उसै भत्किएकै छ । साविकको एमालेका नेताहरूले पनि पद र प्रतिष्ठाका लागि गाभिएको दलका नेतासँग प्रतिष्पर्धा गर्नुपर्ने नै भयो । जड कुरो यहीँनेर छ । 

चुनावमा राम्रै संख्यामा सांसद बनाउन सकेपछि सबैलाई अवसर दिनैप-यो । सबैलाई करोडपति बन्नुछ, जनताको नाम जपेर सत्ताको तृष्णा मेट्नुछ । कम्युनिष्ट राजनीतिका सत्ताधारीहरूको सिंगो शक्ति नै साम्भ्रान्त वर्गमा बदलिँदै गरेका बेला अवसर नदिए त हनुमान र अरिंगालहरूले नै साथ छाड्ने भए । हो यहीँनेर जोडिएको छ मन्त्री फेर्ने सवाल । 

डंका पिटाएका मन्त्रीहरूको हविगत 

मन्त्री बनेपछि जनताका लागि सक्दो गर्ने प्रोपोगाण्डा मच्चाएका ओली क्याबिनेटका मन्त्रीहरू यतिखेर नराम्ररी नांगिएका छन् । गृहमन्त्री रामबहादुर थापा 'बादल' सत्तापतनको अग्रस्थानमा छन् । 

सिन्डिकेटधारी यातायात व्यवसायीमाथि कारबाही गर्ने जनाएका थापा कतिखेर ति व्यवसायीसँग बिके कुन्नि ! देशैभर यात्रुहरू सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । सरकार भन्छ : सिन्डिकेट हटिसक्यो । जनतामाथि यो भन्दा भद्दा मजाक के होला र ? 

श्रममन्त्री बनेका गोकर्ण बिष्ट मलेसियाको रोजगारी बन्द गरेर बसेका छन् । न यी देशमा रोजगारी सृजना गर्न सक्छन्, न त भिसा लागेका युवाहरूलाई परदेश जान दिन्छन् । बिष्ट यतिखेर पुरै मानवतस्कर र दलालहरूको चंगुलमा फसेका छन् । 

प्रचण्डले लोप्पा खुवाएपछि साविकको पार्टी नै फुटाएर चर्का क्रान्तिकारी भाषण गर्दै हिँड्ने मातृका यादव अहिले उद्याेग, बाणिज्य तथा आपूर्ति मन्त्री छन् । 'धम्क्याउने र उठाउने' गरेको भन्दै स्वार्थ समूहले नै यिनको बदनाम गरिरहेको छ । स्टन्ट गर्न माहिर यादवलाई पनि जनताले नपत्याइदिएपछि अहिले धुप सुँघेको लामखुट्टे झैं लठ्ठिएर बसेका छन् । 

भाैतिकमन्त्री रघुबीर महासेठको त चर्चा गरेर साध्यै छैन । सिन्डिकेटधारी यातायात व्यवसायीको स्वार्थमा यिनले जे काम गरे : त्यो गतिविधीले यी महासेठलाई  बदनाम पेटी ठेकेदारको हैसियतमा झारिदिएको छ । उपप्रधानमन्त्री नै बनेका इश्वर पोखरेलले त केहीअघि सिन्डिकेटधारी व्यवसायीकै कार्यक्रममा पुगेर सरकारले बन्द गरेको बैंकखाता खोलिदिने ठेक्का नै लिएका थिए । 

संसदमा दुइतिहाइ बहुमतको सत्ता, संविधान बनेर राजनीतिक संक्रमण लगभग सकिएको अवस्था, असन्तुष्ट खेमामा पनि कम्युनिष्टकै एक समूहमात्रै रहेको स्थिति, स्थायी सरकार...तर ओली र प्रचण्डमण्डलीको नाकामी र असक्षमताका कारण मुलुकको पोल्टामा बल्लतल्ल आएको यो अवसर क्रमश : दुर्भाग्यमा परिणत हुँदैछ । 







ओली सरकार आफैं ढल्ने सुचना छ : मनिष सुमन
ओली सरकार आफैं ढल्ने सुचना छ : मनिष सुमन

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन्..

जेठ २२ गते प्रदेश १ को नीति सार्वजनिक हुने
जेठ २२ गते प्रदेश १ को नीति सार्वजनिक हुने

मोरङ । जेठ २२ गते प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक हुनेभएको छ । प्रदेश १  मन्त्रिपरिषद्को  बिहिबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रमको मिति तय गरेको हो..

नेपाल सांस्कृतिकरुपमा समृद्ध देश : प्रधानमन्त्री ओली
नेपाल सांस्कृतिकरुपमा समृद्ध देश : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध देश भएको बताउनुभएको छ ।  किराँत धर्मावलम्बीको महान् चाड उभौलीका अवसरमा आज शुभकामना सन्देश जारी ग..