२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि संगठित ठगीसम्मको अनुसन्धान गरेका मनोज केसी प्रहरी प्रमुख

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि संगठित ठगीसम्मको अनुसन्धान गरेका मनोज केसी प्रहरी प्रमुख

बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • काठमाडौं । चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणदेखि जटिल आर्थिक तथा संगठित अपराधको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मनोज केसी नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्। सरकारले दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो।

    प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको २८ वर्षपछि प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुगेका केसीको व्यावसायिक पहिचान अपराध अनुसन्धानसँग जोडिएको छ। २०५४ चैत २८ गते नेपाल प्रहरीमा प्रवेश गरेका उनले आफ्नो सेवाकालको अधिकांश समय अपराध अनुसन्धान, शान्ति सुरक्षा र संगठनात्मक सुधारका क्षेत्रमा बिताएका छन्।

    जिल्ला प्रहरी प्रमुखदेखि काठमाडौं उपत्यका अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्वसम्म पुगेका केसीले विभिन्न चर्चित तथा जटिल अपराधको अनुसन्धान गरेका छन्। काठमाडौं उपत्यका अपराध महाशाखाको प्रमुख हुँदा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको ठगी तथा संगठित अपराधको अनुसन्धानको नेतृत्व गरेका थिए। उक्त अनुसन्धानपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएका थिए।

    सीआईबी प्रमुखका रूपमा रहँदा पनि उनले आर्थिक अपराध र संगठित ठगीका विभिन्न घटनाको अनुसन्धान अघि बढाएका थिए। नक्कली हवाई उद्धार ठगी, स्मार्ट टेलिकमसँग जोडिएको ठगी, प्रभु ग्रुपअन्तर्गतका बैंक तथा संस्थासँग सम्बन्धित संगठित ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी कारोबारसँग जोडिएका अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनाका घटनामा उनले अनुसन्धानको नेतृत्व गरेका थिए।

    मोरङ र रूपन्देही जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका केसी अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिको प्रयोगलाई प्राथमिकता दिने प्रहरी अधिकारीका रूपमा परिचित छन्। उनी नेपाल प्रहरी कर्मचारी कलेज, महाराजगञ्जका संस्थापक निर्देशकसमेत हुन्। प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा पनि उनको योगदान रहेको छ।

    प्रहरी सेवामा प्रवेश गरेको करिब २७ वर्षपछि २०८२ वैशाख ११ गते उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए। त्यसपछि २०८३ असार २२ गतेदेखि नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत थिए।

    प्रहरी सेवासँगै केसीको शैक्षिक पृष्ठभूमि पनि बलियो छ। उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। सोही विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण अध्ययनमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र र सार्वजनिक प्रशासनमा समेत स्नातकोत्तर गरेका छन्।

    अन्तर्राष्ट्रिय शान्ति स्थापनाको अनुभवसमेत बटुलेका केसी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हैटीमा सुरक्षा अधिकृतका रूपमा खटिएका थिए। द्वन्द्वपछिको अवस्थामा स्थानीय प्रहरीको क्षमता अभिवृद्धिका लागि उनले काम गरेका थिए।

    प्रहरी सेवामा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उनलाई ‘सुप्रबल जनसेवाश्री’ र ‘प्रबल गोरखा दक्षिण बाहु’ लगायतका विभूषण प्रदान गरेको छ। उनी उत्कृष्ट अनुसन्धानकर्ता तथा उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रूपमा पनि सम्मानित भइसकेका छन्।

    अपराध अनुसन्धानमा लामो अनुभव, जटिल आर्थिक अपराधको अनुसन्धानमा संलग्नता र अन्तर्राष्ट्रिय शान्ति मिसनको अनुभव बोकेर प्रहरी नेतृत्वमा पुगेका केसीका लागि अब प्रहरी संगठनको समग्र व्यवस्थापन, अपराध नियन्त्रण र संस्थागत सुधार प्रमुख जिम्मेवारी हुनेछन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित खबर
    ताजा अपडेट