सोमवार, आश्विन १९ गते २०८३
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै पार्टीभित्र युवा नेतृत्वको बहस पनि तीव्र बनेको छ । यही क्रममा कपिलवस्तुबाट चार पटक निर्वाचित सांसद अभिषेक प्रताप शाह सह-महामन्त्री (मधेशी) पदका लागि उम्मेदवारी दिने घोषणापछि चर्चामा आएका छन् ।
युवा उमेरमै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव स्थापित गरेका शाहलाई कांग्रेसभित्र युवा पुस्ता, कार्यकर्ता र मधेशको प्रतिनिधित्व गर्ने प्रभावशाली नेताका रूपमा हेरिन्छ । साहसी निर्णय क्षमता, स्पष्ट राजनीतिक दृष्टिकोण र संगठनभित्रको सक्रियताका कारण उनी पछिल्लो समय थप चर्चामा छन् ।
शाहको राजनीतिक परिचय केवल निर्वाचन जित्ने नेतामा सीमित छैन । पार्टीका अग्रज नेताप्रति सम्मानजनक व्यवहार, कार्यकर्तासँगको सहज सम्बन्ध र युवाप्रतिको आकर्षण उनका राजनीतिक विशेषता मानिन्छन् । युवामाझ लोकप्रिय र कार्यकर्ताबीच प्रभावशाली छवि बनाएका शाहलाई कांग्रेसको भावी पुस्ताको नेतृत्वसँग जोडेर समेत हेर्न थालिएको छ ।
सभापति गगन थापासँगको पारिवारिक सम्बन्ध ले पनि शाहको राजनीतिक यात्रालाई थप चासोको विषय बनाएको छ । तर, उनको दाबी केवल व्यक्तिगत सम्बन्धमा आधारित नभई संगठनभित्रको सक्रियता र राजनीतिक सम्बन्धको विस्तारमा आधारित रहेको उनका समर्थकहरूको दाबी छ ।
विशेषगरी अन्तर्राष्ट्रिय सम्बन्धमा शाहको पहुँच लाई उनको अर्को महत्वपूर्ण राजनीतिक पूँजीका रूपमा लिइन्छ । भारतीय संस्थापनका शीर्ष तहका नेताहरूसँग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ ।
छिमेकी भारतसँग नेपालको सम्बन्धलाई सन्तुलित, व्यावहारिक र परिणाममुखी बनाउने विषयमा उनको अनुभवलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । गत पुसमा भएको विशेष महाधिवेशनको तयारी र सफलताका लागि लुम्बिनीमा शाहको सक्रियता विशेष रूपमा देखिएको थियो ।
संगठन परिचालनदेखि कार्यकर्तासँगको समन्वयसम्म उनी अग्रपंक्तिमा देखिएका थिए । त्यसैले विशेष महाधिवेशन सफल बनाउन लुम्बिनीमा उनले खेलेको भूमिकालाई कतिपय कांग्रेस नेताहरूले उनलाई ‘लुम्बिनीको पिल्लर’ का रूपमा चित्रित गर्न थालेका छन् ।
चार पटक जनताबाट निर्वाचित हुनु, युवा पुस्तासँगको बलियो सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा विकसित सम्बन्ध, अग्रजप्रतिको सम्मान र संगठनभित्रको सक्रियताले शाहको उम्मेदवारीलाई अर्थपूर्ण बनाएको छ । अब प्रश्न केवल अभिषेक प्रताप शाह सहमहामन्त्री बन्छन् कि बन्दैनन् भन्ने मात्र छैन ।
प्रश्न यो पनि हो - कांग्रेसले बदलिँदो राजनीतिक परिवेशमा युवा, साहसी, अन्तर्राष्ट्रिय पहुँच भएको र मधेशको प्रतिनिधित्व गर्ने नेतृत्वलाई कति प्राथमिकता दिन्छ? यही कारण सहमहामन्त्री (मधेशी) पदमा शाहको उम्मेदवारीलाई कांग्रेसको १५ औँ महाधिवेशनमा चासोका साथ हेरिएको प्रतिस्पर्धामध्ये एक मानिएको छ ।