आइतवार, कार्तिक ९ गते २०८३
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा नेपाल-भारत सीमा विवादको विषय उठ्ने वा नउठ्ने भन्ने प्रश्न गरेका छन् ।
बाँस्कोटाले अर्थमन्त्रीको मनरो डक्ट्रिनसम्बन्धी अभिव्यक्तिमाथि पनि टिप्पणी गर्दै त्यसलाई राष्ट्रघातको संज्ञा दिएका छन् । उनले प्रधानमन्त्री बालेनले ग्रेटर नेपालको नक्सा टाँगेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रियताको सवालमा आफूलाई अझै आशा रहेको बताएका छन् ।
‘अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला कि नहोला भन्ने? मनरो डक्ट्रिन अर्थमन्त्रीको भनाइले त त्यो राष्ट्रघात हुन्छ । धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन् । र, आस छ। नयाँ जोगीले साह्रै खरानी उडायो,’ बाँस्कोटाले टिप्पणी गरेका छन् ।
बाँस्कोटाको अभिव्यक्तिले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्ने–नउठ्ने र नेपालको राष्ट्रिय हितसम्बन्धी मुद्दामा सरकारको कूटनीतिक अडान कस्तो रहने भन्ने प्रश्नलाई राजनीतिक बहसमा ल्याएको छ ।
सीमा विवाद र राष्ट्रिय हितका विषयमा सरकारले कस्तो अडान लिन्छ भन्ने कुरा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुने औपचारिक छलफल र त्यसबाट आउने परिणामले स्पष्ट पार्नेछ ।