शनिवार, श्रावण १६ गते २०८३
काठमाडौं । प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन शुआन्गुई रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरू भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार नक्सालस्थित आरआर बिल्डिङमा कार्यालय सञ्चालन गरी उनीहरूले विदेशी मोडल तथा युवतीको नाममा लाइभ हब एपमार्फत अकाउन्ट खोलेर विदेशी तथा भारतीय नागरिकसँग साथी बनाई कुराकानी गर्ने, पैसा माग्ने लगायतका गतिविधि गर्दै आएका थिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ।