२०८३, मंसिर ८ गते

सोमवार, मंसिर ८ गते २०८३

बायोग्यास प्लान्टको ठेक्कामा मिलेमतोको आशङ्का, मन्त्रालयको मौनता रहस्यमय !

बायोग्यास प्लान्टको ठेक्कामा मिलेमतोको आशङ्का, मन्त्रालयको मौनता रहस्यमय !

आइतवार, मंसिर ७ २०८३
आइतवार, मंसिर ७ २०८३
  • बायोग्यास प्लान्ट निर्माण तथा मर्मतसम्भारको ठेक्का प्रक्रियामा मिलेमतोको आशङ्का सार्वजनिक हुँदा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मौनता रहस्यमय देखिन्छ। यस विषयमा नेपालपानासहित अनलाइन सञ्चारमाध्यममा समाचार प्रकाशित भइसकेका छन्।

    सार्वजनिक खरिद प्रक्रियामाथि गम्भीर प्रश्न उठ्दा पनि सम्बन्धित निकायको स्पष्ट जवाफ नआउनु आफैँमा चिन्ताजनक विषय हो।

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा ठेक्काका मापदण्ड निश्चित कम्पनीलाई अनुकूल हुने गरी बनाइएको, प्रतिस्पर्धा सीमित गरिएको तथा व्यवसायीहरूबाट उजुरी र गुनासो आएको विषय सार्वजनिक भएको छ। पुराना बायोग्यास प्लान्टको मर्मतसम्भार कार्यक्रमसमेत विवाद र अनियमितताको आशङ्काबाट मुक्त हुन सकेको देखिँदैन।

    व्यवसायीहरूको गुनासो र उजुरीपछि पनि मन्त्रालयको मौनता झन् अर्थपूर्ण देखिएको छ। त्यसमाथि केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ‘माथिको आदेश छ, छिटो मूल्याङ्कन सक्नु’ भन्दै दिएको निर्देशनबारे उठेको प्रश्नले विषयलाई थप रहस्यमय बनाएको छ। आखिर त्यस्तो आदेश कसको थियो? मूल्याङ्कन प्रक्रिया हतारमा टुङ्ग्याउनुपर्ने कारण के थियो? प्रतिस्पर्धात्मक खरिद प्रक्रियामा कुनै दबाब वा प्रभाव परेको हो कि होइन?
    समाचार स्रोतका अनुसार व्यवसायीहरू मन्त्रालयको मौनतापछि अब प्रधानमन्त्री कार्यालयमा समेत पुगेर गुनासो तथा ध्यानाकर्षण गराउने तयारीमा रहेको बुझिएको छ।
    सार्वजनिक खरिद प्रक्रिया पारदर्शी, प्रतिस्पर्धी र निष्पक्ष हुनुपर्छ। आरोप उठेपछि त्यसलाई बेवास्ता गर्नु होइन, निष्पक्ष छानबिनमार्फत सत्य सार्वजनिक गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो।

    मन्त्रालयको मौनता समाधान होइन; यसले शङ्का झन् गहिरो बनाउँछ। मन्त्रालय र केन्द्रले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरी आवश्यक छानबिन र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित खबर
    ताजा अपडेट